फिल्म हलसम्म दर्शक तान्न सक्ने कलाकार अनमोल, प्रदीप र पूजा मात्र हुन् : शोभित बस्‍नेत - Crazysaptahik.com

फिल्म हलसम्म दर्शक तान्न सक्ने कलाकार अनमोल, प्रदीप र पूजा मात्र हुन् : शोभित बस्‍नेत

फिल्म निर्देशक शोभित बस्नेत बेलाबेलामा आफ्ना अभिव्यक्तिले चर्चामा आइरहन्छन् । लाखौं पारिश्रमिक लिने स्टारको फिल्मले पाँच शो पनि हाउसफुल गराउन नसक्ने उनको अभिव्यक्तिले चर्चा पाएको थियो ।

‘तिम्रो मेरो साथ’ फिल्म चलिरहेको बेला उनले दिएको यो भनाइ अभिनेत्री साम्राज्ञी शाहतर्फ लक्षित रहेको बुझ्न कठिन छैन । साम्राज्ञीले पनि शोभितको यो कटाक्षमा प्रतिक्रिया दिंदै फिल्म हिट वा फ्लप हुने कुरामा कलाकार जिम्मेवार नहुने बताएकी थिइन् ।

बरु निर्देशक र कन्टेन्ट यो कुरामा जिम्मेवार हुने उनको तर्क थियो । यसैबीच, शोभितले अर्को एक अभिव्यक्ति दिएका छन्, जसले कतिपय कलाकारलाई चिढ्याउन सक्छ । नेपालमा दुई दिन दर्शक तान्न सक्ने कलाकारमा अनमोल केसी, प्रदीप खड्का र पूजा शर्मा मात्र रहेको शोभितको तर्क छ ।

आइतबार जन्मदिन मनाउन आयोजित पार्टीमा मिडियासँग उनले भने, ‘पक्कै पनि विषयवस्तुले नै हो दर्शक हलसम्म तान्ने । तर रिलिज भएको बिहानै दर्शकलाई विषयवस्तु के हो भनेर कसरी थाहा हुन्छ ? यसैले दुई दिन हलमा दर्शक स्टारले तान्नुपर्छ ।

आइतबारदेखि भने विषयवस्तुले नै दर्शकलाई हलसम्म तान्छ । अहिले दर्शक तान्न सक्ने कलाकार भनेको अनमोल केसी, प्रदीप खड्का र पूजा शर्मा मात्र हुन् ।’ दुई दिन पनि पनि हलमा एक शो भर्न नसक्ने कलाकारले अब १८ लाख होइन, १ लाख ८० हजार पारिश्रमिक लिए हुने सुझाव उनको छ ।

यो अभिव्यक्ति कसैप्रति पनि लक्षित नरहेको शोभितको भनाइ छ । शोभितले निर्माण गर्न लागेको फिल्म ‘जय हो’ आगामी फागुन २५ गतेदेखि छायांकनमा जाँदैछ । कमेडी र लभस्टोरी यो फिल्म शोभित निर्देशक नभएर प्रस्तुतकर्ताको रुपमा आउँदैछन् ।

सम्बन्धित खवर