‘कान्तारा’को प्रिक्वेल सन् २०२४ मा रिलिज हुने - Crazysaptahik.com

‘कान्तारा’को प्रिक्वेल सन् २०२४ मा रिलिज हुने

फिल्म ‘कान्तारा’बाट विश्वभर सनसनी मच्चाउने अभिनेता तथा निर्देशक ऋषभ शेट्टी अब छिट्टै यही फिल्मको पहिलो भाग अर्थात् प्रिक्वेल लिएर आउँदैछन् । शेट्टीले प्रिक्वेलसँग सम्बन्धित जानकारी सामाजिक सञ्जालबाट सेयर गरेका छन् ।

जम्मा १६ करोड भारुको बजेटमा बनेको ‘कान्तारा’ देवताको मिथकको कथा थियो, जुन यसअघि कन्नड भाषामा मात्रै रिलिज भएको थियो । तर फिल्मले पाएको अत्यधिक प्रतिक्रिया र मागका कारण भारतभर रिलिज भएको हो ।

फिल्मले झण्डै ४५० करोड कमाउन सक्यो । त्यसबेलादेखि प्रशंसक कान्ताराको अर्को भागको उत्सुकताका साथ पर्खिरहेका थिए । अर्को भागको कथा के होला भनेर जान्न उत्सुक थिए ।

तर ऋषभ शेट्टीले फिल्मको अर्को भाग नभएर पहिलो भाग लिएर आउने जनाएका छन् । अर्थात् ‘कान्तारा’ मा जुन कथा देखाइएको थियो, त्यसको अगाडिको कथा पहिलो भागमा देखाइनेछ ।

‘कान्तारा’ले हलमा रिलिज भएको १०० दिन पूरा गरेको बताइएको छ । यो फिल्म अहिले पनि भारतका धेरै हलमा प्रदर्शन भइरहेको छ । फिल्मले १०० दिन मनाएपछि निर्माताले ‘सक्सेस पार्टी’ गरेका थिए ।

यस क्रममा ऋषभले ‘कान्तारा’ को प्रिक्वेलको कथा लेख्न थालेको बताए । ऋषभले ‘कान्तारा’ को प्रिक्वेल २०२४ मा रिलिज हुने बताए । ऋषभले प्रिक्वेलमा फिल्मको कथा कहिले र कसरी आयो भन्ने खुलासा हुने बताए ।

उनले भने, ‘कान्तारा’को सुटिङ गर्दा मेरो दिमागमा प्रिक्वेल बनाउने विचार आएको थियो । हाल हामी यसका लागि थप विवरणहरू निकालिरहेका छौं । अहिले फिल्मको बारेमा अनुसन्धान भइरहेकोले अहिले केही भन्न हतार हुनेछ ।’

‘कान्तारा’को कथा दैव कोलाको वरिपरि घुमेको छ । कथा सन् १८४७ मा मंगलोरको राजाबारे आधारित छ, जसले घरमा शान्ति चाहन्छ र गाउँलेलाई स्थानीय देवता पञ्जुरालीको मूर्तिको लागि सोध्छन् ।

पञ्जुरालीलाई भगवान विष्णुको अवतार मानिन्छ र कन्नड समुदायले यसलाई पूजा गर्छन् । पञ्जुराली देवतालाई कर्नाटकमा उच्च सम्मान गरिन्छ । त्यहाँका मानिसले भूतकौला पर्वमा भगवान पञ्जुरालीको पहिरन लगाएर पूजाअर्चना गर्छन् ।

सम्बन्धित खवर