विपिन कार्की यतिबेलाका सबैभन्दा व्यस्त फिल्म कलाकार हुन् । आगामी एक वर्षसम्मै उनको व्यस्त तालिका छ । गत साता मात्र ‘प्रसाद २’ सकेर उनी आगामी फिल्म ‘भगवत् गीता’को छायांकनका लागि जनकपुर पुगेका छन् ।
फागुन ५ गते उनकै प्रमुख भूमिका रहेको ‘फूलबारी’ प्रदर्शन हुँदैछ । झरना थापाको निर्देशनमा बन्न लागेको ‘भगवत् गीता’को छायांकन शुक्रबारदेखि जनकपुरमा सुरु हुँदैछ । यो फिल्ममा विपिन प्रमुख भूमिकामै देखिनेछन् ।
फिल्ममा नायिकाको भूमिकामा रहने सुहाना थापाको अभिभावकको रुपमा उनी देखिने जनाइएको छ । त्यसपछि ‘पशुपतिप्रसाद’को स्पिनअफ ‘भष्मे डन’मा उनी व्यस्त हुनेछन् । ‘भष्मे डन’पछि विपिनको सक्रियता ‘हरि’ फेम्ड निर्माताको आगामी फिल्म ‘चलचित्र’मा हुनेछ ।
यो फिल्म सकिएलगत्तै विपिन पाँच महिनाभन्दा बढी समय फिल्मबाट टाढा हुनेछन् । यो समय फिल्म काम त्यागेर आफैंलाई समय दिने उनको योजना छ । यसो गर्नु उनको बाध्यता पनि हो । चार वर्षअघि ‘जात्रैजात्रा’ छायांकनको बेला विपिन टेकुस्थित बागमती पुलमा मोटरसाइकल दुर्घटनामा परेका थिए ।
जसले उनको दाहिने खुट्टा फ्याक्चर भयो । स्टिल हालेरै भएपनि उनी यतिबेला दौडधुप गरिरहेका छन् । अब भने पाँच महिना आराम गरेर भएपनि खुट्टाको स्टिल निकाल्ने र बेड रेस्ट गर्ने विपिनको तयारी छ ।
‘अब भने यसलाई काम नै ठानेर पाँच महिना घरमै समय बिताउने तयारीमा छु । त्यसबीच आउने फिल्मको प्रस्तावलाई अनुरोध गरेरै भएपनि आराम गर्छु,’ उनले भने, ‘कथा पुरानो नहुने जस्ता फिल्म छ भने बरु पछि गर्न सकिने हुन सक्छ ।’
फागुन ५ गते रिलिज तयारीमा रहेको फिल्म फूलबारीमा विपिनले ६० वर्ष पुगेको अवकाशप्राप्त सरकारी कर्मचारीको भूमिका निर्वाह गरेका छन् । पारिवारिक कथावस्तुमा बनेको यो फिल्मले आफ्नो करिअरमा अर्थ राख्ने उनको भनाइ छ । यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।