‘अगस्त्य’का लागि २५ किलो तौल बढाउँदै नाजिर, सौगातले २० किलो घटाउने - Crazysaptahik.com

‘अगस्त्य’का लागि २५ किलो तौल बढाउँदै नाजिर, सौगातले २० किलो घटाउने

अभिनेता नाजिर हुसेन चरित्र चित्रणका लागि प्रशंसनीय मानिन्छन् । चरित्रमा ज्यान भर्न उनी मेहनत गरिरहेका हुन्छन् । अघिल्लो फिल्म ‘गुलाबी’मा पारालैंगिक महिलाको चरित्रमा आफूलाई रुपान्तरण गर्न उनले १५ किलो तौल घटाए ।

फिल्मको फस्टलुकमा पनि उनको यो मेहनत झल्किएको छ । अब भने हुसेन एक्सन थ्रिलर फिल्म ‘अगस्त्य : च्याप्टर वान’का लागि मरिमेट्दैछन् । यो फिल्मका लागि उनले आफूलाई शारीरिक रुपमा म्याचो लुक्समा देखाउनुपर्नेछ ।

यसका लागि उनले २५ किलो तौल बढाउनुपर्नेछ । वैशाख मध्यदेखि छायांकन सुरु हुने यो फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्दैछन्, जसमा हुसेनले आफूलाई ‘म्याचो’ चरित्रमा ढाल्नुपर्नेछ ।

निर्देशक चौधरीका अनुसार नाजिर एक प्रहरी अधिकृतको भूमिकामा देखिंदैछन् र यो चरित्रका लागि उनले २५ किलो तौल बढाउनुपर्नेछ । यसका लागि नाजिर जिममा धाइरहेका छन् । टिकटकमा भिडियो पोस्ट गर्दै उनले यसबारे जानकारी दिएका छन् ।

जिम कोच ग्रिस महर्जनले नाजिरलाई व्यायाम सिकाइरहेका छन् । निर्देशक चौधरीका अनुसार फिल्मका अर्का अभिनेता सौगात मल्लले २० किलो तौल घटाउनुपर्ने भएको छ । नेपाल र भारतमा छायांकन हुने तयारीमा रहेको फिल्म ‘अगस्त्य’ एक्सन थ्रिलर फिल्म हो ।

सम्बन्धित खवर