२५० दिन अनिवार्य नेपाली फिल्म चलाउनुपर्ने निर्माता संघको माग - Crazysaptahik.com

२५० दिन अनिवार्य नेपाली फिल्म चलाउनुपर्ने निर्माता संघको माग

चलचित्र निर्माता संघले वर्षमा २५० दिन अनिवार्य रुपमा नेपाली फिल्म प्रदर्शन गर्ने नीति ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ । यसै साता निर्माता संघले सञ्चारमन्त्री रेखा शर्मालाई ज्ञापन बुझाउँदै यस्तो माग राखेको हो ।

चलचित्र संघसँग चरणवद्ध वार्ता जारी रहँदा निर्माता संघले दबाबस्वरुप सेयर बाँडफाँटसहितका माग अघि सारेको छ । निर्माता संघले मन्त्रीलाई मागपत्र बुझाएपछि झस्किएको चलचित्र संघले मंगलबार विशालनगरस्थित कार्यालयमा वार्ता समितिको छलफल बोलाएको छ ।

महासचिव नरेन्द्र महर्जनले छलफल भइरहेको र जारी वार्ताबारे निष्कर्ष निकालिने बताए ।चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले पनि २५० दिन फिल्म चलाउनुपर्ने आफूहरुको माग पूरा हुनुपर्ने बताए ।

‘यही नै हाम्रो बटमलाइन हो त भन्दैनौं तर यो माग हाम्रो प्रमुख एजेण्डा हो,’ खड्काले भने, ‘हामी पनि चलचित्र संघको रेस्पोन्स के हुन्छ, त्यसलाई कुरिरहेका हुन्छौं । त्यहीअनुसार हामी मुभ हुन्छौं ।’

यसैबीच, निर्माता संघले सेयर बाँडफाँटको एजेण्डालाई पनि प्रमुखताका साथ अघि सारेको छ । जसमा पहिलो साता निर्माताले ६० प्रतिशत, दोस्रो हप्ता ५० र तेस्रो सातादेखि फिल्म नउत्रिउन्जेलसम्म ४० प्रतिशत फ्ल्याट रुपमा सेयर पाउनुपर्ने माग पनि निर्माता संघले अघि सारेको छ ।

सम्बन्धित खवर