फिल्म निर्माता र हल सञ्चालकबीचको विवाद चर्कियो, वार्ता स्थगित गर्दै एक साताको अल्टिमेटम - Crazysaptahik.com

फिल्म निर्माता र हल सञ्चालकबीचको विवाद चर्कियो, वार्ता स्थगित गर्दै एक साताको अल्टिमेटम

चलचित्र निर्माता संघले आफूलाई विदेशी मुद्रा अपचलन गर्ने लगायतका आरोपसहित संचारमन्त्रीलाई एकपक्षीयरुपमा १९ बुँदे मागपत्र बुझाएको भन्दै फिल्म हलहरुको छाता संस्था चलचित्र संघ आक्रोशित भएको छ ।

मंगलबार बसेको चलचित्र संघको कार्यसमिति बैठकले यसबारे एकसाताभित्र धारणा सार्वजनिक गर्न निर्माता संघलाई अल्टिमेटम दिएको छ । बैठकपछि जारी विज्ञप्तिमा सो समयसम्म सम्पूर्ण वार्ता तथा छलफल समेत स्थगित भएको जनाइएको छ ।

एकसाताभित्र पनि धारणा नआएमा सो मितिबाट कार्यदल भंग गर्दै निर्माता संघको वर्तमान नेतृत्व रहँदासम्म कुनैपनि सहकार्य, छलफल र वार्ता नगर्ने निर्णय पनि चलचित्र संघले गरेको छ ।

संचारमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रममा उपस्थित भएका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य आकाश अधिकारीलाई समेत धारणा स्पष्ट पार्न चलचित्र संघले आग्रह गरेको छ ।

महासचिव नरेन्द्र महर्जनद्धारा जारी वक्तव्यमा निर्माता संघले आफ्ना सदस्यहरुलाई विदेशी मुद्रा अपचलन गर्ने, राज्यकोष दोहन गर्ने, हुण्डी कारोबारलाई प्रोत्साहन दिनेका साथै आपराधिक कार्यमा संलग्न रहेको आरोप लगाइएको भन्दै खेद व्यक्त गरिएको छ ।

यसैसाता नवल खड्का नेतृत्वको निर्माता संघले संचारमन्त्री रेखा शर्मालाई १९ बुँदे मागपत्र बुझाएको थियो । गतसाता नै आफूहरुबीचको समस्या सुल्झाउन भन्दै चलचित्र संघ र निर्माता संघले पहिलो चरणको वार्ता गरेका थिए । उक्त वार्ता जारी रहँदै घरेलु फिल्मका दुई प्रमुख संस्थाबीच तनाव चुलिएको हो ।

सम्बन्धित खवर