‘टाइटानिक’को २५ वर्ष पूरा, विश्वका ठूला बजारमा पुनः प्रदर्शन - Crazysaptahik.com

‘टाइटानिक’को २५ वर्ष पूरा, विश्वका ठूला बजारमा पुनः प्रदर्शन

रिलिजको २५ वर्ष पुगेको अवसरमा जेम्स क्यामरुन निर्देशित चर्चित रोमान्टिक फिल्म ‘टाइटानिक’ आज (शुक्रबार)देखि विश्वका ठूला फिल्म बजारमा पुनः प्रदर्शनमा आएको छ । फोरके, एचडीआर र थ्रीडी प्रविधिमा उच्च भिजुअल गुणस्तरसहित फिल्मलाई पुनः प्रदर्शन गरिएको हो ।

फिल्मले पहिलो सप्ताहन्त उत्तर अमेरिकामा मात्र १५ मिलियन डलर कमाउने प्रक्षेपण फोब्र्स म्यागजिनले गरेको छ । निर्देशक क्यामरुनको हालै रिलिज भएको फिल्म ‘अवतार : द वे अफ वाटर’ले ‘टाइटानिक’को कुल कमाइ २.१९४ बिलियन डलरलाई पनि उछिनेको छ । रोचक कुरा के छ भने विश्व फिल्म इतिहासमा धेरै कमाउने शीर्ष तीन फिल्ममा क्यामरुनकै तीन फिल्म छन् ।

पुनः रिलिजमा पनि टाइटानिकले राम्रै कमाइ गर्न सक्ने अपेक्षा गरिएको छ । फिल्मलाई नेपालमा समेत पुनः रिलिज गर्न वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले गरेको आग्रहलाई हलिउड स्टुडियो ट्वेन्टिथ सेन्चुरी फक्सले अस्वीकार गरेको थियो ।

सीमित ठूला अन्तर्राष्ट्रिय बजारमा सीमित समयका लागि फिल्मलाई रि–रिलिज गरिएको हो । फिल्मले पुनः प्रदर्शनमा पनि ६० मिलियन डलर कमाउन सक्ने प्रक्षेपण गरिएको छ । सन् २०१२ मा पनि थ्रीडी संस्करणमा टाइटानिकलाई पुनः प्रदर्शन गरियो र यसले ३५० मिलियन डलर कमाउन सक्यो ।

भ्यालेन्टाइन डेको छेकोमा पुनः रिलिज गरेकाले युवा र महिला दर्शकले फिल्मलाई रुचाउन सक्ने बताइएको छ । अर्कोतर्फ, टाइटानिकले अवतार २ को कमाइलाई पुनः उछिन्ने अनुमान पनि फोब्र्स म्यागजिनले गरेको छ ।

फेब्रुअरी १७ मा हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘एन्टम्यान एण्ड द वास्प क्वान्टुमेनिया’ रिलिज हुँदैछ । यो साता टाइटानिकले पुनः विश्व बक्स अफिसमा राम्रै कमाउन सक्ने आशा गरिएको छ किनभने यतिबेला भ्यालेन्टाइन डे सप्ताह चलिरहेको छ ।

यसैबीच, बलिउडको यशराज फिल्म्सले भारतका अग्रणी मल्टिप्लेक्सहरु पीभीआर, आईनक्स, सिनेपोलिसका चेनमा शाहरुख खान र काजल स्टारर चर्चित रोमान्टिक फिल्म ‘दिलवाले दुल्हानियाले जाएँगे (डीडीएलजे) पुनः रिलिज गरेको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.