भारतीय कलाकार ब्रह्मानन्दम्को शिरमा नेपाली ढाका टोपी - Crazysaptahik.com

भारतीय कलाकार ब्रह्मानन्दम्को शिरमा नेपाली ढाका टोपी

अभिनेत्री नीता ढुङ्गानाको निर्माण रहेको फिल्म ‘ह्रस्व–दीर्घ’ को भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायाङ्कन भइरहेको छ । केही दिन अगाडि एक कार्यक्रम सहित फिल्मको छायाङ्कन सुरु भएको हो ।

फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दम् र अलीको पनि अभिनय छ । निर्माण युनिटले फिल्म छायाङ्कनको एक तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा नेपाली कलाकारका रवीन्द्र झोका साथमा ब्रह्मानन्दम र अली रहेका छन् ।

ब्रह्मानन्दम्को शिरमा ढाकाटोपी पनि देख्न सकिन्छ । उनले फिल्म अभिनयको सिलसिलामा नेपाली ढाका टोपी लगाएका हुन् । कुर्ता र धोतीमा प्रस्तुत ब्रह्मानन्दम्लाई नेपाली ढाका टोपीमा राम्रो देखिएको छ ।

भारतको तामिल र तेलुगु फिल्म मार्फत नेपालमा समेत ब्रह्मानन्दम् र अलीको प्रशंसक धेरै छन् । फिल्मका निर्देशक चन्द्र पन्त हुन् । ‘फिल्म बाह्र दिनसम्म रामोजी स्टुडियोमै छायाङ्कन हुनेछ । त्यसपछि आग्रास्थित ताज महल र नेपालमा छायाङ्कन गर्ने तयारी गरेका छौँ’ निर्माता नीताले बताइन् ।

युवापुस्ताको प्रेमलाई विम्ब बनाएर कथा तयार गरिएको चलचित्रमा नेपाली कलाकार सरोज खनाल, बिपना थापा, हरिहर अधिकारी, आयुश मिश्रालगायतको अभिनय समेत रहनेछ ।

सम्बन्धित खवर