दुबईमा नेपाल सिनेमा फेस्ट सुरु, भुवन केसी भन्छन्– मध्यपूर्व दोस्रो ठूलो फिल्म बजार बन्न सक्छ - Crazysaptahik.com

दुबईमा नेपाल सिनेमा फेस्ट सुरु, भुवन केसी भन्छन्– मध्यपूर्व दोस्रो ठूलो फिल्म बजार बन्न सक्छ

व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको आर्थिक सहर दुबईमा सुरु भएको छ । यूएईको समयानुसार आइतबार राति चर्चित बलिउड घराना राजश्री प्रोडक्सनको मल्टिप्लेक्स चेन स्टार सिनेमाजमा फिल्म स्क्रिनिङ भयो ।

उद्घाटन समारोहमा नेपाली प्रदर्शक, निर्माता, कलाकार, सञ्चारकर्मी, गैरआवासीय नेपालीहरु सहभागी रहे । नेपाल सिनेमा फेस्टको प्रचारप्रसारले झकिझकाउ पारिएको मल्टिप्लेक्समा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, कलाकार अनमोल केसी, उपासना सिंह ठकुरी, शिव श्रेष्ठ, निर्देशक भूषण दाहाल, रामबाबु गुरुङदेखि दुबईस्थित व्यवसायी र एनआरएनए प्रतिनिधिहरु उपस्थित रहे ।

बोर्ड अध्यक्ष केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने ढोका दुबईबाट खुला भएको बताए । ‘दुबई नेपालपछि नेपाली फिल्मको दोस्रो ठूलो बजार बन्न सक्ने देखिएको छ ।

नेपाली फिल्मका वास्तविक दर्शक मध्यपूर्वमै हुनुहुन्छ,’ अध्यक्ष केसीले भने । नेपाल प्राकृतिक रुपमै छायांकन स्टुडियो भएकाले फिल्म छायांकनको लागि नेपाल आउन अध्यक्ष केसीले यूएईस्थित फिल्ममेकरलाई आग्रह गरे ।

 

साथै, यूएईले हलिउड र बलिउडलगायत फिल्मलाई सुटिङमा इन्सेन्टिभ (प्रोत्साहन) दिएजस्तै नेपाली फिल्मलाई पनि त्यो सुविधा उपलब्ध गराउन उनले आग्रह गरे । गैरआवासीय नेपाली संघका यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगानाले यूएईका दर्शकमाझ नेपाली फिल्मको पहुँच पु¥याउन एनआरएनएले सहयोग गर्ने बताए ।

‘यहाँ पनि नेपाली फिल्म नेपाली दर्शकमाझ मात्र नभएर विदेशी दर्शकमाझ पनि लैजानुपर्ने जरुरी छ,’ उनले भने । सञ्चारकर्मी तथा कागबेनी फिल्मका निर्देशक भूषण दाहालले नेपाली फिल्मलाई विश्वमाझ लैजान ढिला भइसकेको भन्दै अन्तर्राष्ट्रिय दर्शकलाई लोभ्याउने क्राफ्टका फिल्म बनाउन जरुरी रहेको बताए ।

‘अहिले पनि रामबाबु गुरुङका फिल्महरु हेरेर मैले धेरै कुरा सिकिरहेको छु,’ उनले भने । फिल्म स्क्रिनिङपूर्वको संक्षिप्त रेडकार्पेटमा अनमोल र उपासना आकर्षणको केन्द्र बने । ‘जेरी २’को लुक्समा देखिएका अनमोल र कुर्तामा सजिएकी उपासना आकर्षणको केन्द्र बने ।

महोत्सवमा भाग लिन नेपालबाट ४० फिल्मकर्मी, बोर्ड र सञ्चार मन्त्रालयका कर्मचारी, सञ्चारकर्मी दुबई पुगेका छन् । फेस्टिभल सुरु हुनुअघि बोर्डले दुबईमा पत्रकार सम्मेलन समेत आयोजना गरेको थियो ।

सूर्य कर्पोरेसनको व्यवस्थापनमा आयोजना भएको फेस्टिभल चार दिनसम्म चल्नेछ । कर्पोरेसनका कार्यकारी प्रमुख वासुदेव लामिछानेले फेस्टिभलमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्नु आफूहरुको उद्देश्य रहेको बताए । फेस्टिभलको दोस्रो दिन सोमबार रेडकार्पेट समारोह, अवार्ड घोषणालगायत कार्यक्रम तय गरिएका छन् ।

सम्बन्धित खवर