यी शब्द ६७ वर्षीया नन्दा पन्तले गाएको ‘लैले बरै’ गीतका हुन् । ठेट लोकभाकाको यो गीतले अहिले धेरैको मन जितेको छ । युट्युबमा मात्रै होइन टिकटकमा पनि यो गीत निकै छाइरहेको छ ।
व्यावसायिक गीत–संगीतको दबदबा रहेको अहिलेको समयमा गण्डकी र बागमती क्षेत्रको ठेट मौलिक भाका, त्यसमा पनि कहिल्यै ‘लाइमलाइट’मा नआएकी एक आम ज्येष्ठ नागरिक महिला कलाकारले गाएको गीत यसरी लोकप्रिय हुनु आफैंमा अर्थपूर्ण छ ।
गोरखा स्थायी घर भएकी नन्दा पन्तको काठमाडौंको रानीबारीमा पनि घर छ । त्यही घरमा गायक तथा संगीतकार भूपु पाण्डेका साथी बस्थे, जो भिडियोग्राफर हुन् । साथीको उक्त डेरामा जाँदा आउँदा नन्दाले भूपुलाई गायक भन्ने थाहा पाइन् ।
अनि उनले आफ्नो पनि गीत गाउने रहर रहेको उनलाई सुनाइन् । ‘आमा (नन्दा पन्त)लाई गीत गाउने तीव्र रहर रहेछ । त्यसबेला उहाँले मलाई धेरै किसिमको भाका सुनाउनुभयो । कति पहिले नै अरुका गीतमा आइसकेका हुन्थे ।
तर यो (लैले बरै) भने मलाई नौलो लाग्यो । गण्डकी, बागमती, लुम्बिनीका पहाडी क्षेत्रको भाका,’ गीतका एरेन्जर तथा निर्मातासमेत रहेका भूपुले ने, ‘अनि केही नौलो पनि हुन्छ, आमाको पनि रहर पूरा हुन्छ भनेर यत्तिकै यो गीत निर्माण गर्ने सोच बनाएँ ।’
भूपुले यो गीतले यति चर्चा पाउँछ भन्ने पटक्कै सोचका थिएनन् । एउटा राम्रो ‘कलेक्सन’ आफ्नो सांगीतिक जीवनमा हुन्छ भनेर मात्रै बनाएको उनी बताउँछन् । ‘मुख्य त आमाको रहर पूरा हुन्छ भनेर गरिएको हो ।
सामान्य खर्चमा स्टुडियोमा छायांकन गयौं । अहिले यत्तिको चर्चा पाउँदा अत्यन्तै खुसी लागेको छ ।’ गीत हिट भएपछि हाल अष्ट्रेलियामा छोराछोरीसँग रहेकी पन्त पनि औधी खुसी भएकी छन् । ‘आमा गीत हिट भएपछि एकदम खुसी हुनुहुन्छ, बिरामी भइरहनुहुन्छ अहिले खुसी हुनुहुन्छ ।
उहाँको छोराले पनि फोन गरेर आमाको यस्तो रहर रहेछ हामीलाई थाहा थिएन । तपाईंले पूरा गरिदिनुभयो भनेर भन्नुहुन्छ । बुवा (नन्दाका श्रीमान्)ले पनि फोन गरेर मलाई त कहिल्यै भन्दा पनि भनिनन् भन्नुभयो,’ भूपुले सुनाए ।
१३ दिनअघि ‘भूपु पाण्डे’ युट्बुब च्यानलमा रिलिज भएको गीत अहिले नेपाल ट्रेण्डिङमा समेत परिरहेको छ । गीतका अंशलाई लिएर सामाजिक सञ्जाल टिकटकमा थुप्रै भिडियो बनिरहेका छन् । विशुद्ध ठेट भाकाको गीतमा मौलिक बाजाको प्रयोग गरिएको छ ।
नन्दा पन्तकै शब्द तथा लय संकलन रहेको गीतको एरेन्जर भूपु पाण्डे हुन् । गीतमा भूपु पाण्डे। रमेश कडरिया, श्याम ढकाल, नरेन्द्र वियोगी, भुवन खत्री, तिलस्मी खड्का र लक्ष्मी कार्कीले कोरस भोकल भरेका छन् ।