नेपाली फिल्म र संगीत क्षेत्रको सूर्य इन्टरनेसनल अवार्डको तेस्रो सस्करण अमेरिकामा हुने भएको छ । दुबईमा बुधबार सम्पन्न नेपाली सिनेमा फेस्टको औपचारिक कार्यक्रममा अवार्ड कार्यक्रमको घोषणा गरिएको हो ।
कोरोना महामारीले लगातार दुई संस्करण हुन नसकेको अवार्डको मनोनयन कार्यक्रम जापानमा हुने भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सूर्य कर्पोरेसनका सीईओ बासुदेव लामिछाने, अभिनेता शिव श्रेष्ठ, सन्दीप क्षेत्री, प्रशान्त ताम्राकारलागयतले अवार्डको बारेमा अनुभव सेयर गर्दै शुभकामना व्यक्त गरे ।
आयोजक संस्थाका अध्यक्ष लामिछानेले नेपाली फिल्मलाई डायस्पोरामा प्रवर्द्धन गर्ने उद्देश्यले निरन्तर अवार्डसहित अन्य कार्यक्रम गर्दै आएको बताए । फिल्मतर्फ अभिनेता, अभिनेत्री, सहायक अभिनेता, सहायक अभिनेत्री, निर्देशक र फिल्म गरी ६ वटा विधा अवार्डमा समावेश छन् ।
यस्तै संगीततर्फ पप, आधुनिक र लोकगीतका गायक र गायिका गरी ६ वटा विधा छन् । अवार्ड समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष कलाकारिता सम्मान र चलचित्र पत्रकारिता पुरस्कार पनि वितरण गरिनेछ ।
यस वर्षदेखि अवार्डमा संगीतकार, नवअभिनेता, अभिनेत्रीको अवार्ड पनि थपिएको छ । फिल्मको संगीततर्फ गायक र गायिका पनि थपिएको छ ।
विभिन्न क्षेत्रमा आफ्नो योगदान दिंदै आएका व्यक्तिको सम्मानका लागि अनर अवार्ड पनि थपिएको छ । तेस्रो संस्करणदेखि अवार्डमा २० विधा रहने आयोजक संस्था सूर्य कर्पोरेसनले जनाएको छ ।