अक्षय कुमारलाई लिएर मुम्बईमा सुरु भयो ‘हेराफेरी ३’को छायांकन - Crazysaptahik.com

अक्षय कुमारलाई लिएर मुम्बईमा सुरु भयो ‘हेराफेरी ३’को छायांकन

बलिउड फिल्म ‘हेराफेरी ३’को कलाकार हेरफेरलाई लिएर सन् २०२२ मा निकै चर्चा चल्यो । स्क्रिप्टमा चित्त नबुझेको भन्दै अक्षय कुमारले आफू तेस्र्रो श्रृंखलामा नजोडिने बताएपछि त सामाजिक सञ्जालमा तरंग नै ल्यायो । अक्षयलाई सिक्वेलमा फिर्ता ल्याउनुपर्ने नत्र बहिष्कार गर्ने भनेर फ्यानले अभियान नै चलाए ।

अक्षयले आफू फिल्ममा नहुने बताएको दुई सातापछि निर्माता फिरोज नाडियावालाले दर्शकको दबाबपछि अक्षयलाई फिर्ता ल्याउन छलफल चलाए । जब समाचार भाइरल बन्यो सोसल मिडियामा केहीले यसलाई फेक न्युज भएको दाबी गरे र केहीले लेखकको मजाक पनि गरे ।

एक साताअघि पनि हेराफेरी ३ को भविष्य तय गर्न अक्षय कुमार, सुनिल शेट्टी र परेश रावलले मुम्बईको एम्पायर स्टुडियोमा भेटेको खबर पनि बाहिरिएको थियो । ‘हेराफेरी ३’ मा उनीहरुको यो पहिलो आधिकारिक बैठक थियो । अब भने यो फिल्मलाई लिएर विशेष अपडेट छ ।

स्रोतका अनुसार अक्षय कुमार, सुनिल शेट्टी र परेश रावललाई शीर्ष भूमिकामा लिएर मंगलबारदेखि मुम्बईमा छायांकन सुरु भएको छ । चाखलाग्दो कुरा के छ भने पहिलो हेराफेरी पनि सन् १९९९ मा मुम्बईको एम्पायर स्टुडियोमा छायांकन भएको थियो ।

ठीक २४ वर्षपछि यो फिल्मको अर्को शृंखला त्यही ठाउँमा छायांकन हुँदैछ । हेराफेरी ३ मा धेरै कलाकारको सहभागिता हुनेछ । भारतको सबैभन्दा ठूलो कमिक फ्रेन्चाइज समेत बताइएको यो फिल्मबारे आगामी दिनमा थप विवरण सार्वजनिक गर्ने तयारी छ । निर्देशकको नाम अझै खुलाइएको छैन ।

 

सम्बन्धित खवर