ओस्कार अवार्डको ९५ औं संस्करण आगामी मार्च १२ मा अमेरिकाको लस एन्जलसमा हुँदैछ । अघिल्लोपटक विल स्मिथले प्रस्तोता क्रिस रकलाई थप्पड हानेको घटना भएपछि यसपटक ओस्कार आयोजक सतर्क बनेको छ । कार्यक्रमको दौरान हुनसक्ने अप्रिय घटनालाई रोक्न क्राइसिस टिम गठन गरिएको छ ।
एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सका प्रमुख कार्यकारी बिल क्रेमरले सन् २०२३ ओस्कारका लागि क्राइसिस टिम घोषणा गरे । गत वर्षको घटनालाई ध्यानमा राख्दै ओस्कारले यस्तो निर्णय गरेको हो । यो टोली बनाउनुको उद्देश्य अवार्डका क्रममा हुनसक्ने विवादित घटनालाई व्यवस्थित गर्नु हो ।
टाइम्स म्यागजिनलाई दिएको अन्तर्वार्तामा क्रेमरले भने, ‘हामीसँग क्राइसिस टोली छ । त्यसैले हामी आशा गर्छौं कि कुनै पनि अनपेक्षित घटना भएमा हामी पूर्णरूपमा तयार हुने योजनामा छौं । हामीले यस्ता धेरै कुराको योजना बनाएका छौं, जसमा हामीले पहिले खासै ध्यान दिएका छैनौं ।’
स्मिथ र क्रिस रकको थप्पडको घटनाको बारेमा कुरा गर्दै क्रेमरले थप भने, ‘त्यसपछि एकेडेमीले ओस्कारमा हुने धेरै कुराहरूप्रति थप सोच्न थालेको छ ।’ क्रेमरले थपे, ‘पुरस्कार वितरणको क्रममा त्यस्तो कुनै पनि घटना भएमा संकट सञ्चार टोली त्यहाँ उपस्थित हुनेछ ।
यदि त्यस्तो केही भयो भने टोलीले कारवाही गर्नेछ । जे होस्, म आशा गर्दछु कि यस्तो केही नहोस् र हामीले यो संकट टोली प्रयोग गर्नु नपरोस् ।’ सन् २०२२ मा ओस्कार अवार्ड समारोहमा उपस्थित अभिनेता विल स्मिथले अमेरिकी हास्य कलाकार र समारोह होस्ट क्रिस रकलाई थप्पड हानेका थिए ।
अभिनेता विलले फिल्म ‘किङ रिचर्ड्स’का लागि उत्कृष्ट अभिनेताको अवार्ड जिते । जब स्मिथ अवार्ड लिन स्टेजमा पुगे, क्रिस रकले विल स्मिथकी पत्नी जाडा पिन्केटको मजाक गरे । यो सुनेर विल यति रिसाए कि उनले चलिरहेको कार्यक्रमको बीचमा स्टेज उक्लिएर थप्पड हाने ।
विल स्मिथ प्रकरणबाहेक ओस्कारको मञ्चमा धेरै पटक विवाद भएका छन् । सन् २०२१ मा फ्रान्सेली अभिनेत्री कोरिन मासेरियोले स्टेजमै कपडा उतारेकी थिइन् । सन् २००० मा हलिउड अभिनेत्री एन्जेलिना जोलीले भाइलाई चुम्बन गरेपछि विवाद भयो ।