‘छक्कापञ्जा ४’ आगामी फागुन २५ गते मध्यपूर्वका ५० भन्दा बढी पर्दामा रिलिज हुने भएको छ । त्यहाँको वितरण कम्पनी नेपफिल्म्सले उक्त मितिमा दीपकराज गिरी स्टारर फिल्मलाई यूएई, कतार, ओमान, बहराइन र कुवेतमा रिलिज गर्ने भएको हो ।
साउदी अरेबियाको प्रदर्शन मिति भने तय भइसकेको छैन । चलचित्र विकास बोर्डसँग भएको सहमतिपछि नेपफिल्म्सले औपचारिक रुपमै छक्कापञ्जा ४ लाई मध्यपूर्वका मुलुकमा रिलिज गर्न लागेको हो । ती मुलुकका दर्शकले नेपाल रिलिजको ६ दिनपछि मात्र यो फिल्मलाई हेर्न पाउनेछन् ।
नेपालमा भने फागुन १९ गते प्रदर्शन तयारी छ । साउदी अरबमा अहिलेसम्म नेपाली फिल्म रिलिज भएको छैन । ‘त्यहाँ पनि नेपाली फिल्मलाई पहिलोपटक रिलिज गरेर बजारको नयाँ ढोका खोल्न चाहन्छौं,’ वितरक रमेश ढकालले दुबईबाट अनलाइनखबरसँग भने, ‘साउदीको हकमा तयारी भइरहेको छ ।’
दुई वर्षअघि पहिलोपटक फिल्म हल खोलेको साउदीले पछिल्लो समय फिल्म, मनोरञ्जन र खेलमार्फत आर्थिक उदारीकरणको यात्रा तय गरेको छ । साउदीले छानिएका हलिउड र बलिउड फिल्मलाई मात्र प्रदर्शन गरिरहेको छ । साउदीले अनुमति दिएमा कुल पर्दा संख्या ७० पुग्ने ढकालले जानकारी दिए ।
‘कबड्डी ४’ साउदीबाहेक मध्यपूर्वका ५८ हलमा रिलिज भएको थियो । अहिलेसम्म खाडी मुलुकमा धेरै कमाउने नेपाली फिल्म पनि कबड्डी ४ नै हो । यसैबीच, छक्कापञ्जा ४ चलिसकेपछि मात्र ‘छड्के २’लाई मध्यपूर्वमा प्रदर्शन गर्ने तयारी छ ।
गत साता दुबईमा आयोजित नेपाल सिनेमा फेस्टको क्रममा बोर्ड अध्यक्ष भुवन केसी र नेपफिल्म्सका प्रमुख ढकालबीच मध्यपूर्वमा फिल्म रिलिजको सहमति भएको थियो ।