रेनशा राईको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकी ः आई एम ट्वान्टी वान’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मको शीर्ष भूमिकामा देखिएका अभिनेता धीरज मगरलाई मात्र प्रस्तुत गरिएको छ । पोस्टरमा धीरजको दोहोरो अवतार देख्न सकिन्छ ।
एकातिर उनी लाहुरेको पोसाकमा देखिएका छन् भने अर्कोतिर डान्सरको रुपमा । पोस्टरले फिल्ममा कतै धीरजको दोहोरो भूमिका त होइन ? भन्ने प्रश्न उब्जाएको छ । नायिकाको भूमिकामा अभिनय गरेकी जसिता गुरुङलाई फिल्मले फस्टलुकमा स्थान दिएको छैन ।
केही दिन अगाडि सार्वजनिक फिल्मको फस्टलुक भिडियोमा पनि जसितालाई स्थान दिइएको थिएन ।आइकोरको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी वर्षको वैशाख २१ गते रिलिज हुँदैछ । प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबरा यो फिल्मको निर्माता हुन् ।
फिल्ममा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन र द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ । फागुन १९ गते फिल्मको टिजर सार्वजनिक गर्ने तयारी छ ।