बौद्धधर्म गुरु तथा फिल्म निर्देशक जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) यतिबेला काठमाडौंमा छन् । भुटानमा फिल्म छायांकन सकेर आइपुगेका उनीसँग नेपाल बसाइका तीन योजना छन् । पहिलो– भुटानमा सुटिङ गरिएको उक्त फिल्मको पोस्ट प्रोडक्सन गर्ने, दोस्रो– नेपालमा छायांकन गरिएको फिल्म ‘डाकिनी’को नेपाल रिलिज गर्ने र तेस्रो– कला प्रदर्शनीमा सहभागी हुने ।शनिबार बेलुका उनले पाटन संग्रहालयमा उनकै अवधारणामा स्थापित लिच्छवि हाउसले आयोेजना गरेको कला प्रदर्शनीमा सहभागी भए ।
भृकुटीदेवी ट्रस्टले सञ्चालन गरेको लिच्छवि हाउसमा उनले कला अवलोकन गर्दै नेपालका लागि कलाको महत्वबारे प्रकाश पारे । रिम्पोछेकै निर्देशन रहेको फिल्म ‘किङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’ (डाकिनी) नेपालमा वैशाखमा रिलिज गर्ने तयारी छ ।
पछिल्लो हिट फिल्म ‘महापुरुष’ निर्माण कम्पनी षट्कोण आर्ट्सले रिम्पोछेको फिल्मलाई रिलिज गर्दैछ । महापुरुष निर्माता म्याक्स दीपेश खत्रीले यो फिल्मलाई वैशाखमा सीमित हलमा प्रदर्शन गर्ने तयारी भएको र गुरु रिम्पोछेसँग सल्लाह भइरहेको बताए । किम्फ फिल्म फेस्टिभलमा समेत रिलिज भइसकेको यो फिल्मले बौद्ध ग्रन्थका बज्रयोगिनी, ताराजस्ता देवीको कथा भन्छ ।
बौद्ध धर्मका ठूला गुरु मानिने रिम्पोछेको यो पाँचौं फिल्म हो । उनका बौद्ध धर्मबारेका प्रवचनहरू जति चर्चित छन्, फिल्म निर्देशकका रूपमा पनि त्यति नै । सन् १९९९ मा उनले बनाएको पहिलो फिल्म ‘द कप’ कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो ।
उनको दोस्रो फिल्म ‘ट्राभल्र्स एन्ड म्याजिसियन्स’ पनि चर्चित थियो । २०१७ मा उनले बनाएको ‘हिमा हिमा : सिंग मी अ सङ ह्वाइल आई वेट’ लोकार्नो र टोरन्टो फिल्म फेस्टिभलमा प्रदर्शन गरिएका थिए । २००७ मा प्रकाशित उनको पुस्तक ‘ह्वाट मेक्स यु नट अ बुद्धिस्ट’ संसारभर निकै पढिएको पुस्तक मानिन्छ । उनका अन्य तीन पुस्तक समेत प्रकाशित छन् ।