‘छक्कापञ्जा ४’ भर्सेस ‘छड्के २’ : मल्टिप्लेक्समा ६०–४० प्रतिशतको अनुपातमा शो बाँडफाँट - Crazysaptahik.com

‘छक्कापञ्जा ४’ भर्सेस ‘छड्के २’ : मल्टिप्लेक्समा ६०–४० प्रतिशतको अनुपातमा शो बाँडफाँट

आगामी शुक्रबार नेपाली बक्स अफिसमा यस वर्षको ‘हेभीवेट’ भिडन्त हुँदैछ । दीपकराज गिरी स्टारर ‘छक्कापञ्जा ४’ र अनमोल केसी स्टारर ‘छड्के २’ आमनेसामने हुँदैछन् । प्रदर्शन हुन तीन दिन बाँकी रहँदा प्रमुख मल्टिप्लेक्सले सोमबार बेलुका यी दुवैको शो तालिका सार्वजनिक गरेका छन् ।

सार्वजनिक तालिकाअनुसार ‘छक्कापञ्जा ४’लाई ६० प्रतिशत र ‘छड्के २’लाई ४० प्रतिशत हाराहारीमा शो बाँडफाँट गरिएको छ । क्यूएफएक्सले ६५ र ३५ प्रतिशतको अनुपातमा शो बाँडेको छ, जसअनुसार छक्कापञ्जा ४ लाई ४२ र छड्के २ लाई ३२ शो दिइएको छ भने हलिउड फिल्म ‘क्रिड ३’लाई ११ शो ।

आईएनआईले छक्कापञ्जा ४ लाई १० शो र छड्के २ लाई ४ शोसहित ७० र ३० प्रतिशतको अनुपातमा बाँडेको छ । बिग मुभिजले दुवैलाई २÷२ शो उपलब्ध गराउँदै ५०\५० प्रतिशत अनुपातमा शो दिएको छ । वान सिनेमाजले छक्कापञ्जा ४ लाई १० र छड्के २ लाई ९ शो दिएको छ ।

एफक्युब, रञ्जना, बीएसआरले पनि ६० र ४० प्रतिशतको हाराहारीमा शो दिएका छन् । हलिउडको ‘क्रिड ३’ आउँदा यसको प्रभाव अझै पर्नेछ । ‘अकुपेन्सीको आधारमा जसले राम्रो गर्छ, सोही फिल्मलाई हामीले शो वृद्धि गर्ने निर्णय गरेका छौं,’ बिग मुभिजका व्यवस्थापक दीपेश शर्माले भने, ‘अहिले ५०\५० गरेपनि प्रदर्शनको आधारमा शो थपघट हुनेछ ।’

आईएनआई मल्टिप्लेक्सका निर्देशक सुरेन्द्र थापाले विगतको बक्स अफिस रेकर्ड, फिल्मको जनरा र बिदाको माहोल हेरेर ७०÷३० प्रतिशत अनुपातमा शो बाँडफाँट गरिएको जनाए । ‘छक्कापञ्जा पारिवारिक फिल्म हो । छड्के युवा दर्शकलाई लक्षित छ । जनराअनुसार दर्शकको रोजाइ पनि भिन्न हुन्छ ।

बिदाको माहोलमा दर्शकले पारिवारिक फिल्म पनि हेर्न सक्छन् । पर्फमेन्सको आधारमा शो थपघट हुन सक्छ सोही आधारमा शो तय गरेका हौं,’ थापाले अनलाइनखबरसँग भने । शो बाँडफाँटले धेरै हदसम्म फिल्मको ओपनिङलाई प्रभाव तुल्याउने अनुमान गर्न सकिन्छ ।

धेरै कमाउने ब्राण्डेड फिल्म भएकाले छक्कापञ्जा ४ दर्शकमाझ प्रतीक्षित छ भने अनमोल केसीलाई हिट गराउनुपर्ने दबाब छ । एउटै मितिमा यी दुई फिल्म आउने भएपछि सम्भावित बक्स अफिस ‘पर्फमेन्स’लाई लिएर दर्शकले यसतर्फ चासो दिएका छन् ।

सम्बन्धित खवर