आठ वर्षपछि ‘मेरी बास्सै’मा माग्ने बुढा - Crazysaptahik.com

आठ वर्षपछि ‘मेरी बास्सै’मा माग्ने बुढा

गत महिना मात्र लामो समय प्रसारणको रेकर्ड राखेको टेलिभिजन सिरिज ‘मेरी बास्सै’मा माग्ने बुढा पात्रको पुनरागमन भएको छ । मंगलबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने उक्त सिरिजमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’कै रोलमा प्रस्तुत हुनेछन् ।

आठ वर्षपछि अभिनेता घिमिरे ‘मेरी बास्सै’मा देखिने भएका हुन् । दर्शकले एक एपिसोडमा भएपनि माग्ने बुढाको चर्चित पात्रलाई हेर्न पाउनेछन् । यो श्रृंखलामा उनी अभिनेत्री बेनिशा हमालसँगै देखिने जनाइएको छ । शुक्रबारदेखि हलमा प्रदर्शन हुने तयारीमा रहेको ‘छक्कापञ्जा ४’को प्रवद्र्धनका लागि माग्ने बुढाले ‘मेरी बास्सै’मा अभिनय गरेका हुन् ।

‘छोटै भएपनि उहाँको कमब्याकले हामीलाई खुसी दिलाएको छ । छायांकन सकिएको छ र आज प्रसारण हुन्छ,’ मेरी बास्सैका अर्का कलाकार लेखान्त भुसालले  भने । ‘मेरी बास्सै’ले केदार घिमिरेलाई माग्ने बुढाको रुपमा चर्चित बनाएको थियो ।

आठ वर्षअघिसम्म उक्त सिरियलमा उनले सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सँगै सहकार्य गरेका थिए । अहिले मेरी बास्सैलाई सुरवीर पण्डितलगायतका कलाकारले निरन्तरता दिइरहेका छन् । केदार ‘छक्कापञ्जा ४’का कार्यकारी निर्माता समेत हुन् ।

फिल्ममा बेनिशा हमाल र केदार शीर्षमध्येको भूमिकामा छन् । हेमराज बीसी निर्देशित फिल्मले भर्चुअल माध्यमबाट मात्र फिल्मको प्रचारप्रसार गरिरहेको छ । सोही सन्दर्भमा मेरी बास्सैको प्लेटफर्मलाई निर्माताले प्रचारका लागि उपयोग गरेका हुन् ।

सम्बन्धित खवर