मिसेल योह बनिन् साग जित्ने पहिलो एसियाली अभिनेत्री, ओस्कारमा के होला ? - Crazysaptahik.com

मिसेल योह बनिन् साग जित्ने पहिलो एसियाली अभिनेत्री, ओस्कारमा के होला ?

‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’ स्टार मिसेल योहले हलिउडको प्रतिष्ठित अवार्ड स्क्रिन एक्टर्स (साग)मा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेर इतिहास रचेकी छन् । यो जितसँगै उनी साग अवार्ड जित्ने पहिलो एसियाली अभिनेत्री बनेकी छन् ।

यो जितसँगै आगामी महिना हुने ओस्कार अवार्डमा उक्त फिल्म र अभिनेत्रीको रुपमा योहको सम्भावना बलियो बनेको छ । ‘मलाई लाग्छ यदि मैले बोलें भने मेरो हृदय विस्फोट हुनेछ,’ अवार्ड ग्रहण गर्दैगर्दा भावुक सुनिएकी अभिनेत्री योहले स्टेजमा भनिन्, ‘तपाईं सबैलाई उतारचढावपूर्ण यात्राबारे थाहा छ ।

तर महत्वपूर्ण कुरा हामी कहिल्यै हार मान्दैनौं । म तपाईंलाई धन्यवाद दिन्छु । यो मेरो लागि मात्र होइन, यो म जस्तो देखिने हरेक साना केटीको लागि हो ।’ यस वर्षको साग अभिनेत्रीको मनोनयनलाई २९ वर्षको इतिहासमै समावेशी मानिएको छ ।

जसमा एना डे अर्मास (ब्लान्डे), भियोला डेभिस (द वुमन किंग), डेनियल डेडवाइलर (टिल) छन् । मिसेल अभिनित फिल्म ‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’ यस वर्षको ओस्कारमा सर्वाधिक ११ विधामा मनोनयन भएको छ । साग अवार्डमा जितसँगै योहसहित यो फिल्मले ओस्कार अवार्ड जित्ने प्रक्षेपण हलिउड सञ्चारमाध्यमले गरेका छन् ।

करमुक्त हुन एक व्यवसायीले गर्ने संघर्षको कथावस्तुमा बनेको यो फिल्ममा मिसेलको अभिनयलाई फिल्म समीक्षकले रुचाएका छन् । भूकम्पको समय नेपालमा आएर पनि उद्धार कार्यमा सहयोग गरेकी अभिनेत्री योहका प्रशंसक नेपालमा समेत प्रशस्तै छन् । जेम्स बण्ड सिरिजमा समेत अभिनय गरेकाले उनको ख्याति विश्वभर फैलिएको छ ।

सम्बन्धित खवर