ट्रेलरमा यस्तो देखियो सुरक्षाको ‘बहाव’ - Crazysaptahik.com

ट्रेलरमा यस्तो देखियो सुरक्षाको ‘बहाव’

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनीत फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म आगामी २४ चैतबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको ट्रेलरमा अभिनेत्री सुरक्षा प्रेमी, विद्रोही र पागलपनको भावमा देखिएकी छन् ।

काम र विदेश जानुभन्दा पनि क्रान्ति गर्ने सोच सुरक्षामा देखाइएको छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय फिल्मले बनाएको अनुमान गर्न सकिन्छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा अभिनेत्री सुरक्षाले फिल्ममा जोडिनु आफैँका लागि सुखद क्षण भएको बताइन् ।

‘कुनै फिल्म आउँछन्, जान्छन्, तर यो फिल्मका लागि मेरो बुझाई फरक छ । किनकि यस्तो फिल्म दर्शकमाझ आउनुपर्छ’, सुरक्षाले भनिन्, ‘बहाव परिवार भित्रको विद्रोहको कथा हो । यसले नेपालको अधिकांश परिवारको कथा भन्छ ।’ लेखक तथा निर्देशक कँडेलले लकडाउनको बेलामा ‘बहाव’ लेखिएको बताए ।

‘यो फिल्मसँग जोडिएका घटना, किस्सा धेरै छन् । तर जुन कथा मैले लेखेँ, त्यसमा निर्माता श्रीधर पौडेल सहमत हुनु मेरा लागि ठुलो उपलब्धि थियो’ कँडेलले थपे । निर्माता श्रीधर पौडेलले निर्देशक कँडेलको कथाबाट प्रभावित भएपछि आफूले लगानी गरेको सुनाए ।

अभिनेता पवन श्रेष्ठले आफ्ना लागि ‘बहाव’ मार्फत व्यावसायिक कलाकारसँग काम गर्न पाउँदा खुसी लागेको बताए । फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।

सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउन्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

सम्बन्धित खवर