विकास आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ६’ आगामी बैशाख १ गते रिलिज हुने पक्का भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । रोमान्टिक पोस्टरमा आँचल शर्मा र आशिर्वाद क्षेत्री फिचर्ड छन् ।
बाल मनोविज्ञान र रोमान्टिक जानरामा बनेको फिल्मले मंगलबार बेलुका टिजर समेत सार्वजनिक गर्ने भएको छ । संजय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेको फिल्मलाई विकास र विष्णुमणि दाहालले निर्माण गरेका हुन् ।
बैशाख १ गते दयाहाङ राईको अभिनय रहेका दुई फिल्म ‘जारी’ र ‘बिहे पास’ तथा सुरक्षा पन्त अभिनित ‘बुलाकी’ पनि प्रदर्शन हुँदैछन् । एउटै मितिमा चार फिल्मले प्रदर्शन मिति घोषणा गरेपछि डेढसय हल क्षमताको नेपाली फिल्म उद्योगमा दबाब सिर्जना हुनेछ ।
आफूले पहिले नै रिलिज डेट घोषणा गरेकाले पछि नहट्ने निर्देशक तथा निर्माता आचार्यले बताए ।‘नाई नभन्नू ल’का अघिल्ला पाँच श्रृंखलाले घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेका छन् ।