नायिका केकी अधिकारीले आफ्नो नयाँ चलचित्रका लागि कपाल मुण्डन गरेकी छिन् । पहिलो पटक कपाल मुण्डन गरेकी केकीले अनलाइनखबरसँग भनिन्–‘आफूले कहिले नकाटेको र धेरै माया गरेको कपाल काट्दा त म रोएकी थिएँ ।
तर, विस्तारै आफूले नै असहज महुशश गर्दा अरुले झनै असहज महशुश गर्ने अवस्था आउँछ भनेर आफैलाई सम्हालेँ ।’ केकीले नयाँ चलचित्रको नाम भने अहिले खुलाउन नमिल्ने बताइन् । भनिन्–‘चलचित्रको अफर आएपछि मैले सुरुमा आफूलाई तयार गरेको थिएँ ।
यस्तो बोल्ड भूमिका गर्न सक्छु भन्ने लागेपछि नै मैले काम गर्ने निर्णय गरेकी हुँ । यो महिला केन्द्रित चलचित्र हो ।’ वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि केकीले एक महिना अगाडि नै कपाल पालेकी छिन् ।
कपाल काटेपछि मानिसहरुबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने आफूलाई वुझ्न मन लागेकाले तस्वीर सार्वजनिक गरेको केकीले बताइन् । उनले भनिन्–‘मलाई मानिसहरुले मेरो यो गेटअपलाई कसरी लिन्छन् भन्ने पनि हेर्नु थियो ।
गेटअप सार्वजनिक भएपछि कसैले मलाई विरामी हो कि भनेर सोचे, कसैले मानसिक रुपमा तनाव भएको हो कि भनेर सोचे । कसैले केटा जस्तो देखियो भनेर प्रतिक्रिया दिए त कसैले टाउको कती मिलेको रहेछ भनेर प्रतिक्रिया दिए ।
मानिसहरुको प्रतिक्रियाले मलाई झनै उत्साहित बनाएको छ ।’ वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि यति चाडै कपाल किन मुण्डन गर्नुभयो त भन्ने प्रश्नमा केकीले भनिन्–‘हामीले चाडै नै फोटोसुट पनि गर्नुछ ।
यसैले पनि कपाल केही समय अगाडि नै काट्नुपर्यो ।’ केकी आफू सधै नै फरक–फरक भूमिका निर्वाह गर्न तयार रहेकाले पनि आफूले माया गरेको कपाल काट्न तयार भएको बताउँछिन् ।
केकीले अभिनय गरिरहेको ‘बोक्सीको घर’को छायांकन अन्तिम चरणमा पुगेको छ । आफ्नो छायांकनको काम सकिएपछि कपाल मुण्डन गरेको केकीले बताइन् ।