२७ चैत्रमै रिलिज होला त फिल्म ‘कृष्ण लिला’ ? - Crazysaptahik.com

२७ चैत्रमै रिलिज होला त फिल्म ‘कृष्ण लिला’ ?

‘कृष्ण लिला’ २७ चैत्रबाट प्रदर्शनमा आउने फिल्म हो । नयाँ वर्षको अवसर पारेर रिलिज हुन लागेको यो फिल्म रिलिज हुन्छ, हुँदैन अझै अन्यौल छ ।
पछिल्लो समय कोरोनाको कहर फेरि बढ्न थालेकोले फिल्म रिलिज गर्ने वा नगर्ने निर्णय लिन निर्मातालाई कठिन परिरहेको छ ।

हुन त यही मितिमा रिलिज हुने भनिएको अन्य दुई फिल्म ‘मनसँग मन’ र ‘लप्पन छप्पन २’ले आफ्नो रिलिज स्थगित गरिसकेका छन् । तर ‘कृष्ण लिला’ले भने न रिलिज स्थगित गरेको, न त रिलिजको लागि प्रचार प्रचारनै थालेको छ । अहिलेको समयमा फिल्म रिलिज गर्ने नगर्ने निर्णय लिन आफूलाई कठिन परेको निर्माता रोहित कट्टेलले बताए ।

‘यही मितिमा आउने दुई फिल्म सरेर अहिले सिंगल रिलिजको अवसर प्राप्त भएको छ । व्यवसायको लागि यो राम्रो अवसर पनि हो’ निर्माता कट्टेलले भने ‘अवसर र डेट राम्रो भएपनि हलमा दर्शक आउँछन्, आउँदैनन् यसै भन्न सकिन्न ।’ केही दिन अझै हेरेर मात्र फिल्मको रिलिजको बिषयमा निर्णय लिने रोहितले सुनाए ।

‘नयाँ वर्षको अवसर परेर बिगतका बर्षमा रिलिज भएका जति पनि फिल्म छन् । ती सबैको व्यवसाय राम्रो भएको रेकर्ड छ,’ रोहितले थपे, ‘तर अहिले समय अनुकुल नभएकोले के हुन्छ भन्न सकिन्न ।’ एक पटक रिलिज भएपछि लगानी उठेपनि नउठे पनि दोहोर्याएर फिल्म रिलिज गर्ने अवसर नमिल्ने भएकोले पनि आफुले फिल्मको विषयमा धेरै सोचेर मात्र निर्णय लिन लागेको रोहितले सुनाए ।

फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईँ लगायतका कलाकारको पनि अभिनय छ । फिल्मको कथा लक्ष्मण सुवेदीले तयार पारेका हुन् ।

आर आर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ रहेका छन् । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकाल र बाबु श्रेष्ठको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.