आदित्यले ‘सारेगमप’को प्रस्तोताबाट बिदा लिए, अब संगीतमा समर्पित हुने - Crazysaptahik.com

आदित्यले ‘सारेगमप’को प्रस्तोताबाट बिदा लिए, अब संगीतमा समर्पित हुने

बलिउड अभिनेता, गायक तथा टेलिभिजन प्रस्तोता आदित्य नारायण झाले टेलिभिजन प्रस्तोताको जिम्मेवारीबाट बिदा लिएका छन् । १५ वर्षसम्म टेलिभिजन दुनियाँमा काम गरेका आदित्यले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत काम छाडेको जानकारी दिएका हुन् ।

आदित्य हालै बुवा बनेका छन् । बुवा बनेसँगै जीवनको नयाँ अध्याय सुरु भएकाले टेलिभिजन कार्यक्रम प्रस्तोताबाट अलग भएको बताएका छन् । अब पूरै समय संगीतलाई दिने उनको भनाइ छ ।

उनले सारेगमपलाई धन्यवाद दिंदै ‘भारी मनका साथ कार्यक्रम छाड्ने निर्णय गरेको छु, यस शोले मलाई मेरो पहिचान दिलाएको छ’ भनेका छन् । ‘१५ वर्षसम्मका ९ सिजन र ३५० एपिसोड यो शोलाई छाड्ने घोषणा गरेको छु । मेरो भाइ निरज शर्मालाई धेरै धेरै धन्यवाद,’ उनले भनेका छन् ।

आदित्यको उक्त पोष्टमा सारेगमपका जज विशाल ददलानीले कमेन्ट गर्दै ‘अब म के बोलुँ ? यो शोको तिम्रो पहिलो सिजन मेरो पनि पहिलो सिजन थियो’ भनेर लेखेका छन् । ददलानीले यो निर्णय जे जति कारणले लिएपनि त्यो कारण अहम् हुने र आफूलाई पूर्ण रुपमा बदल्ने बताएका छन् ।

‘संगीत क्षेत्रमा लागेपनि तिम्रा संगीत चारैतिर फैलिउन्, तिमीलाई टीभीमा काम गर्ने समय नै मिल्ने छैन । यो कुराले मलाई सन्तुष्टि दिनेछ । जाऊ आदि आफ्नो जिन्दगी जिऊ । धेरै धेरै प्रेम,’ उनले लेखेका छन् ।

बालकलाकारबाट बलिउड प्रवेश

आदित्य नारायणले आफ्नो करिअरको सुरुवात बालकलाकारबाटै गरेका थिए । उनले सलमान खानको फिल्म ‘जब प्यार किसी से हो ता है’मा उनको छोराको भूमिका निभाएका थिए । जसलाई दर्शकले निकै मन पराएका थिए ।

बाल्यकालमै शानदार सांगीतिक करिअर

आदित्यले बाल्यकालमा धेरै गीत गाएका छन् । उनले दिएको एक अन्तर्वार्ता पनि भाइरल भएको थियो । जसमा उनी ठूलो भएपछि गायक बन्ने सपना सुनाइरहेका थिए । उनका बालकदेखि लिएर तालका गीत र ‘जंगल मे बोले कोयल’ गीतले निकै चर्चा कमाएका थिए ।

त्यस्तै ‘अकेले हम अकेले तुम’ र ‘आई लव यु ड्याडी’ अहिले पनि श्रोताको मुखमा झुण्डिएका छन् । आदित्यले बाल्यकालमै एक सयभन्दा बढी गीत गाइसकेका थिए ।

‘सारेगमप’बाट होस्टको रुपमा डेब्यु

आदित्यले सन् २००७ मा जी टीभीको रियालिटी शो ‘सारेगमप’बाट कार्यक्रम प्रस्तोताको रुपमा करिअर सुरुवात गरेका थिए । उनी यस अवधिमा टेलिभिजन दुनियाँमा सबैभन्दा बढी लोकप्रिय कार्यक्रम प्रस्तोताको रुपमा चिनिए ।

उनले यसका साथै ‘राइजिङ स्टार’ र ‘इण्डियन आइडल’का केही सिजनमा समेत होस्टको रुपमा कार्यक्रम चलाएका थिए ।

‘सापित’बाट बलिउडमा डेब्यु

सन् २०१० मा आदित्यले फिल्म ‘सापित’मार्फत बलिउडमा डेब्यु गरेका हुन् । फिल्म खासै नचलेपनि यसबाट उनले जीवनसंगिनी श्वेता अग्रवाल पाए ।

आदित्य र श्वेता सन् २०२० मा विवाह बन्धनमा बाँधिएका हुन् ।सापितमा डेब्यु गरेपछि उनले फिल्ममा ध्यान दिएनन् । उनले आफूलाई पूर्ण रुपमा टीभी शोमा नै केन्द्रित गरे ।

विवादमा तानिए

आदित्य नारायण धेरै कम मात्रै विवादमा तानिने कलाकार हुन् । तर एक समय विमानस्थलमा झगडा गर्दै गरेको उनको एक भिडियो बाहिरिएको थियो ।

जसमा उनी एअरलाइन्सलाई बढी वजनको रकम नतिर्ने भनिरहेका थिए । उनी विमानस्थलका कर्मचारसँग गालीगलौजमा उत्रिएपछि उनको भिडियो भाइरल भएको थियो ।

सांगीतिक दुनियाँमा संघर्ष

आदित्यले सञ्जय लीला भन्सालीको फिल्म ‘रामलीला’मा असिस्टेन्टको रुपमा काम गरेका थिए । फिल्मका लागि आदित्यले गाएको ‘ततड–ततड’ गीतले निकै चर्चा कमाएको थियो ।

तर दुःखको कुरा यो गीतपछि उनलाई बलिउडमा संगीत गर्ने मौका मिलेन । तर अब आदित्यले पूरै समय संगीतमा लाग्ने भन्दै आफ्नो कार्यक्रम प्रस्तोताको काम छाड्ने निर्णय गरेका छन् ।

अब नयाँ जिम्मेवारीमा

आदित्य र श्वेताकी एक छोरी छिन् । छोरीको आवागमनसँग उनको जिन्दगीमा नयाँ जिम्मेवारी पनि थपिएको छ । परिवारको जिम्मेवारीसँगै उनले जिन्दगीको दिशा बदल्ने प्रण गरेका छन् ।

दर्शकले लामो समयसम्म मनोरञ्जन प्रदान गरेको भन्दै उनलाई धन्यवाद दिइसकेका छन् । आशा गरौं उनको सांगीतिक जीवन पनि सफल हुनेछ ।

सम्बन्धित खवर