प्रिमियर लिग : न्यु स्टार एफसी सेमिफाइनलमा प्रवेश - Crazysaptahik.com

प्रिमियर लिग : न्यु स्टार एफसी सेमिफाइनलमा प्रवेश

क्रेजी संवाददाता
पथरी शनिश्चरे, फागुन २९ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज आइतबारको खेल  न्यु स्टार एफसीले जितेको छ । खेलमा सिरिजङ्गा एफसीलाई २-१ गोल अन्तरले हराउँदै न्यु स्टार एफसीले जित निकालेको हो । जितसँगै न्यु स्टार खेल तालिकामा ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने लिग चरणबाट ३ अंक मात्र जोडेर सिरिजङ्गा एफसी बाहिरिएको छ ।

न्यु स्टारले दोश्रो र आजको तेश्रो चरणको खेलमा क्रमशः देविगन्ज र सिरिजङ्गालाई हराउँदै खेल तालिकामा ६ अंक जोडेको हो भने पहिलो चरणको खेलमा द रियल ब्रदर्शसँग पराजित भएको थियो ।

त्यस्तै, सिरिजङ्गा एफसीले पहिलो चरणको खेलमा देविगन्जलाई हराउँदै खेल तालिकामा ३ अंक जोडेको थियो भने दोश्रो र आजको तेश्रो चरणको खेलमा क्रमश रियल ब्रदर्श र न्यु स्टारसँग हार बेहोरेको थियो ।
यसअघिनै समूह ‘ए’ बाट टेन नवोदय र शिखर एफसीले सेमिफाइनलको यात्रा तय गरिसकेको छ भने लिगबाट वाइएफसी र वाइजिएफटी बाहिरिसकेका छ्न ।

आजको खेलको ९ औ मिनेटमा सिरिजङ्गाका जर्सी नम्बर ९ का खेलाडी सफल आङ्बोहाङ्ले १ गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसैगरी खेलको ३८ औं मिनेटमा न्यु स्टारका २० नम्बरका खेलाडी समीर मगरले १ गोल फर्काएपछि खेललाई बराबरी बनाएका थिए । खेलको अतिरिक्त समयमा सिरिजंगाको गोलरक्षक पोष्ट छाडेर अग्रता बनाउन अघि बढ्दा न्यु स्टारका फरवाड जुनियर सावाँले खाली पोष्टमा गोल गरे ।उनले महेन्द्र मगरले दिएको राम्रो पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । यससँगै न्यु स्टार २-१ गोल अन्तरले विजयी भयो ।

खेलको म्यान अफ द म्याच न्यु स्टार जर्सी नम्बर १७ का खेलाडी अमर याक्खा घोषित भएका थिए । याक्खालाई कार्यक्रमको प्रमुख अतिथि समाजसेवी तथा राजनीतिककर्मी युवराज बास्कोटा, खेल आयोजक समितिका अध्यक्ष सन्जीव गिरी, दिपक पुलामीले ट्रफी, मेडल र रकम हस्तान्तरण गरेका थिए ।

भोली सोमबारको खेल द रियल ब्रदर्स र देवीगन्ज एफसी विच हुने आयोजक समितिका सचिव मनि लुम्फुवाले बताए । खेल तालिका अनुसार द रियल ब्रदर्शले ६ अंक जोडेका छन् भने देवीगन्ज एफसीले भने कुनै अंक जोड्न सकेको छैन । भोलीको खेलबाट सेमिफाइनलमा प्रवेश गर्ने चौथो टिमको टुङ्गो लाग्नेछ ।

सम्बन्धित खवर