‘कश्मीर फाइल्स’का निर्देशकलाई ‘वाई’ श्रेणीको सुरक्षा - Crazysaptahik.com

‘कश्मीर फाइल्स’का निर्देशकलाई ‘वाई’ श्रेणीको सुरक्षा

अहिले चर्चामा रहेको बलिउड फिल्म ‘कश्मीर फाइल्स’का निर्देशक विवेक अग्निहोत्रीलाई ‘वाई’ श्रेणीको सुरक्षा दिने भारत सरकारले निर्णय गरेको छ । समाचार संस्था एनएनआईका अनुसार फिल्म रिलिजपछि बढेको सुरक्षा खतरालाई मध्यनजर गर्दै अग्निहोत्रीलाई सुरक्षा व्यवस्था गरिएको हो ।

अनुपम खेरसहितका अन्य कलाकारलाई पनि सुरक्षा बढाइएको जनाइएको छ । निर्देशक अग्निहोत्रीलाई दिइने भनिएको ८ जना सुरक्षा अधिकृतको टोलीमा दुईजना कमाण्डो र प्रहरी जवानहरु हुनेछन् । यो सुरक्षा खर्च महिनामा ११ लाख भारु बराबरको हुने जनाइएको छ ।

समाचार अनुसार स्पेसल कमाण्डोले भारतभर निर्देशक अग्निहोत्रीलाई सुरक्षा दिनेछन् । गत साता रिलिज भएको यो फिल्मलाई लिएर भारतीय राजनीति समेत तरंगित बनेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसहित सत्तारुढ बीजेपी सरकारका मन्त्रीहरुले फिल्मलाई हेर्न नागरिकलाई सार्वजनिक रुपमै अपील गरेका छन् ।

सन् १९९० मा कश्मीरबाट लखेटिएका हिन्दूहरुको कथा पेस गर्ने फिल्म शुक्रबारदेखि नेपालमा पनि रिलिज भएको छ । यसअघि भारत सरकारले अभिनेत्री कंगना रनावतलाई पनि वाई श्रेणीको सुरक्षा प्रदान गरेको थियो ।

सम्बन्धित खवर