अनुप बरालको निर्देशनमा नाटक ‘एउटा सपनाको अवसान’ मञ्चन हुने - Crazysaptahik.com

अनुप बरालको निर्देशनमा नाटक ‘एउटा सपनाको अवसान’ मञ्चन हुने

विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली रुपान्तरणमा नाटक ‘एउटा सपनाको अवसान’ आगामी चैत १० गतेदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । अनुप बरालले निर्देशन गर्ने नाटक एक महिनासम्म मञ्चन गर्ने तयारी छ ।

नाटकमा दीया मास्के, रोयदीप श्रेष्ठ, दिव्यदेव, विकास जोशी, शेखर चापागाईं र मेनुका प्रधानको शीर्ष भूमिका हुने जनाइएको छ । ‘नेपाली समाज र समयका लागि यो नाटक  निकै सान्दर्भिक भएकाले मञ्चन गर्न लागेका हौं,’ रिहर्सलमा व्यस्त अभिनेत्री मास्केले भनिन् ।

आर्थर मिलरद्वारा लिखित यो वियोगान्त नाटकलाई सन् १९४० को दशकको उत्तराद्र्धतिरको समयमा सेट गरिएको छ । नाटकले मोन्टाजमार्फत नायक विली लोमनका सम्झना, भ्रम, सपना र तर्कबारे बताउँछ । केही समालोचकले यसलाई २० औं शताब्दीको महान् नाटकमध्ये मान्छन् ।

आफ्नै भाषा र शैलीमा अनुवाद गरी विभिन्न देशमा, विभिन्न समयमा संसारभर मञ्चन गरिएको छ । यो नाटकमाथि फिल्म पनि बनेको छ । नाटकबारे निर्देशक अनुप बरालले भने, ‘यो नाटकको नेपाली रुपान्तरणले आर्थिक प्रणाली, अमेरिकी सपना र श्रमिक वर्गको अवस्थाजस्ता नेपालको वर्तमान सन्दर्भबारे बहस र छलफल निम्त्याउँछ ।’

नाटकमा देखाइने आत्महत्याको अर्थ त्यसतर्फ प्र्रेरित गर्न नभई भौतिकवादी समाजको यथार्थलाई युवापुस्तामा चित्रण गर्नु रहेको जनाइएको छ । यसले सकारात्मक, रचनात्मक र अहिंसात्मक प्रतिक्रिया दिन प्रोत्साहित गर्ने आशा नाटककारले लिएका छन् ।

 

सम्बन्धित खवर