दुई ठूला हलिउड हस्तीहरु टम क्रुज र स्टीभन स्पिलबर्गबीचको दुई दशक लामो दुश्मनी अन्ततः समाप्त भएको देखिएको छ । सन् २००५ मा रिलिज भएको फिल्म ‘वार अफ द वर्ल्ड्स ’मा सहकार्य गरेयता यी दुईबीचको सम्बन्ध हार्दिक छैन भन्ने कुरा सबैलाई थाहा छ ।
ओस्कार अवार्डको हालैको एक लन्चमा यी दुई हस्तीले लामो कुराकानी गरे । उक्त लन्चमा भएको कुराकानीले २० वर्षदेखिको उनीहरुको संवादहीनताको अन्त्य ग¥यो । हलिउड सञ्चारमाध्यमका अनुसार निर्देशक स्पीलबर्गले अभिनेता क्रुजका ‘मिसन इम्पोसिबल’ र ‘टपगन : माभेरिक’जस्ता ब्लकबस्टर फिल्मको प्रशंसा गरे ।
यति मात्र होइन, कोभिड महामारीपछि संकटमा परेको फिल्म व्यवसायलाई टपगनको दोस्रो सिक्वेलले उद्धार गरेको समेत उनले बताएका थिए । ओस्कार पार्टीमा स्टीभनले भने, ‘तपाईंले हलिउडलाई बचाउनुभयो । साथै थिएट्रिकल डिस्ट्रिब्युसन (फिल्म हल र वितरण प्रणाली)लाई समेत जोगाउनुभयो ।’
उक्त भीडभाड ओस्कार पार्टीमा दुई जनाले हात मिलाउने र न्यानो अँगालो हालेको भिडियो इन्टरनेटमा भाइरल भएको छ । ‘टपगन २’ले विश्वव्यापी बक्स अफिसमा एक बिलियन डलरको अंक पार गरेको छ र कोभिड–१९ महामारीपछि दर्शकलाई हलसम्म ल्याउन भूमिका खेलेको भन्दै श्रेय दिइएको छ ।
सन् २००५ को फिल्म ‘वार अफ द वर्ल्ड्स’मा काम गरेपछि यी दुई हलिउड ए–लिस्टरबीच दुश्मनी सुरु भएको थियो । फिल्मको प्रचार गर्न ओप्रा विन्फ्रे शोमा देखा परेपछि सम्बन्ध खराब भयो । उक्त शोमा क्रुजले फिल्मभन्दा पूर्वपत्नी केटी होम्समाथि आक्रोश पोखेपछि निर्देशक स्पीलबर्ग अभिनेता क्रुजसँग रिसाएका थिए ।
स्टीभनले टमको अनौठो व्यवहारले फिल्मको बक्स अफिसको कमाइलाई असर गरेको बताएका थिए । टमको व्यवहारले फिल्मलाई कतिपयको ओझेलमा पारेको भएपनि यो फिल्मले बक्स अफिसमा ६०० मिलियन डलरको कमाइ गरे ।