देशभरका महोत्सवमा कलाकारलाई भ्याइनभ्याइ - Crazysaptahik.com

देशभरका महोत्सवमा कलाकारलाई भ्याइनभ्याइ

अहिले महोत्सवको सिजन समेत हो । स्थानीय पर्यटन प्रवद्र्धन गर्न भन्दै जिल्ला–जिल्लामा महोत्सव आयोजना भइरहेका छन् । महोत्सव भन्ने बित्तिकै संगीत जोडिने भइहाल्यो । जसकारण यतिबेला कलाकारलाई भ्याइनभ्याइ छ । गायक–गायिकाहरु देश तथा विदेशमा प्रस्तुतिका लागि व्यस्त छन् ।

मेलिना राई, अस्मिता अधिकारी, रचना रिमाल, एलिना चौहान, प्रमोद खरेल, शिव परियार, प्रकाश सपुत, हेमन्त शर्मा पछिल्लो समय निकै व्यस्त कलाकार हुन् । क्यानडालगायत मुलुकमा कार्यक्रम गरेपछि नेपाल फर्किएकी गायिका रचनाले त एक महिनाभित्रै स्वदेशमा २२ वटा कार्यक्रममा प्रस्तुति दिइसकेकी छन् ।

अझै प्रशस्तै कार्यक्रम बाँकी रहेको उनी बताउँछिन् ।‘जहिलेदेखि क्यानडाबाट फर्किएँ, त्यसयता २२ वटाजति कार्यक्रममा भाग लिएँ । ग्याप नगरेर धमाधम कार्यक्रम गरिरहेकी छु पूर्वदेखि पश्चिमसम्म । अझै टन्नै कार्यक्रम छन्,’ आगामी फागू पूर्णिमामा एउटा गीत ल्याउने गरी रेकर्डको तयारीमा समेत रहेकी रचनाले  भनिन्, ‘दर्शकले माया दिइरहनुभएको छ । अझै राम्रो गर्नुस् भन्ने रेस्पोन्स पाएकी छु ।’

कम्तीमा पनि एउटा नाम चलेको कलाकारले एउटा कार्यक्रममा प्रस्तुति दिएबापत एक लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । कमाइको हिसाबले पनि महोत्सवको यो सिजन कलाकारको लागि आकर्षक अवसर समेत हो । प्रमोदले त भारतको सिक्किमदेखि नेपालका अधिकांश महोत्सवसम्म प्रस्तुति दिइरहेका छन् । गत महिना टीकापुर महोत्सवमा गायिका एलिनाको कन्सर्टको दृश्य त टिकटकमार्फत विश्वभर भाइरल बन्यो ।

अर्की व्यस्त गायिका मेलिना राईले भारतको सिक्किम, अरुणाञ्चल प्रदेशदेखि नेपालका महोत्सवसम्म आफ्नो प्रस्तुति दिएकी छन् । मेलिना, एलिना, रचना र अस्मिताको डिमान्ड यतिबेला महोत्सवमा सर्वाधिक छ ।

यी चारैजना गायिका यतिबेला चल्तीका कलाकार हुन् । हिपहप  रियालिटी शोबाट करिअर थालेका कलाकार पनि देश तथा विदेशको दौडधुपमा छन् । भिटेन, लाउरेसहितका देश तथा विदेशमा उच्च माग छ ।

प्रमोद खरेलसहित भ्वाइस अफ नेपाल सिजन ४ को ब्याचले हालै अष्ट्रेलिया टुर सकेको छ । पछिल्लो समय महोत्सव कलाकारको आम्दानीको प्रमुखमध्येको स्रोत समेत बनिरहेका छन् ।

सम्बन्धित खवर