शाहरुख खानको बङ्गला मन्नतमा हाम फालेर छिरे दुई व्यक्ति - Crazysaptahik.com

शाहरुख खानको बङ्गला मन्नतमा हाम फालेर छिरे दुई व्यक्ति

बलिउड अभिनेता शाहरुख खानको बङ्गला मन्नतमा दुई व्यक्ति कसैलाई जानकारी नै नदिई घुसेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले यस मामिलामा दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान सबेरै पर्खाल नाघेर यी मानिसहरू मन्नत प्रवेश गरेका थिए, त्यसपछि बङ्गलाका सुरक्षाकर्मीले उनीहरूलाई समातेका थिए । एएनआईले प्रहरीलाई उद्धृत गर्दै दुवै युवाको उमेर २० देखि २२ वर्ष रहेको र शाहरुख खानलाई भेट्ने इच्छा लिएर गुजरातबाट मुम्बई आएको बताएको छ ।

दुवै विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले दिएको जानकारीमा दुई जना बिहान ३–४ बजेतिर बङ्गलामा प्रवेश गरेका थिए ।

टाइम्स अफ इन्डियाका अनुसार जब यी दुई युवा मन्नतमा प्रवेश गरे, शाहरुख फिल्म ‘जवान’ को सुटिङका लागि घरबाट बाहिर थिए र लगभग त्यही समयमा मन्नत फर्किएका थिए ।

हाल शाहरुख खान फिल्म ‘जवान’ र ‘डंकी’ को सुटिङमा व्यस्त छन् । शाहरुख खानको हालैको फिल्म ‘पठान’ ले बक्स अफिसमा एक हजार करोडभन्दा बढीको कमाई गरेको छ ।

सम्बन्धित खवर