फिल्म ‘महापुरुष’को व्यवसायिक सफलतापछि अभिनेता हरिवंश आचार्य गायनमा फर्किएका छन् । गत महिना बिजुली खपतबारेको सिरिजमा उनले काम गरे । पछिल्लो गीत ‘हाम्म हाम्म’ दुई महिनाअघि रिलिज भएको थियो ।
यतिबेला भने हरिवंशको व्यस्तता एक सांगीतिक भिडियो निर्माणमा छ ।आफ्नै संगीत र स्वरमा रहेको गीत ‘काउली’लाई हरिवंशले पुर्ख्यौली गाउँ काभ्रेको शंखुमा छायांकन गरिरहेका छन् ।
दुई दिनदेखि सुटिङ भएको गीतमा हरिवंश, प्रियंका कार्की र प्रकाश सपुतको अभिनय छ । गायनमा चाहिं हरिवंशलाई शान्तिश्री परियारसँग सहकार्य गरेका छन् । दर्शकको चाहनाअनुसार आफूले गीत ल्याउन लागेको हरिवंशले बताए ।
‘देश विदेशमा जाँदा दर्शकले गीत ल्याउनुस् भन्नुहुन्छ । उहाँहरुको चाहनाअनुसार नै गीत ल्याउन लागेका हौं,’ उनले भने, ‘मलाई यस्तो टाइपको गीत मन पर्छ । एउटा गीत बनाएर राखेको थिएँ ।
स्टेजमा जाँदा यस्तो गीतमा रमाइलो लाग्छ ।’ उक्त भिडियोमा मोडलका रुपमा प्रस्तुत भएका गायक प्रकाश सपुतले पनि गीतको अडियो राम्रो रहेको र हरिवंशको अनुभवबाट धेरै कुरा सिक्ने मौका पाएको बताए ।
अभिनेत्री प्रियंकाले हरिवंशको गीत भन्ने बित्तिकै आफू कन्भिन्स भएको बताइन् ।भिडियोलाई सरोज ओलीले निर्देशन गरेका छन् भने नृत्य निर्देशन गम्भीर विष्टको छ । गीतलाई आगामी चैत ३ गते सार्वजनिक गरिने हरिवंशले जानकारी दिए ।