नयाँ वर्ष अर्थात् अगामी १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘नाईं नभन्नू ल ६’ ले टिजर सार्वजनिक गरेको छ । १ मिनेट २५ सेकेन्डको टिजरमा प्रेम प्राप्तिका लागि हुने लडाइँ समेटिएको छ ।
टिजरमा आशिर्वाद बी क्षेत्रीलाई दुई फरक अवस्थामा चित्रण गरिएको छ । एउटा पाटोमा उनी रोमान्टिक अवतारमा देखिएका छन् भने अर्को पाटोमा एक्सनमा देखिएका छन् । अभिनेत्री आँचल शर्माको प्रेम पाउन उनले गरेको संघर्षपूर्ण लडाइँलाई टिजरमा प्राथमिकता दिइएको छ ।
टिजरमा प्रियंका कार्की, केकी अधिकारी, बालकलाकार अर्थव उप्रेती पनि छन् । विकासराज आचार्यद्वारा निर्देशित फिल्ममा निर्देशक आचार्य, सामिप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन छ । सरोज खनालको पनि फिल्ममा अभिनय छ ।
आख्यान फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल हुन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेका छन् ।
फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।