‘अमेरिकी सपना’माथिको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘क्यामिनो’ छायांकनको तयारीमा छ । ‘रोल्पा रोग’ फेम्ड दीपक वलीले निर्देशन गर्ने फिल्मको शीर्ष भूमिकामा प्रदीप खड्का, नीति शाह र वर्षा सिवाकोटी हुनेछन् ।
यही फिल्मबाट नीतिले अभिनयमा डेब्यु गर्दैछिन् ।यसका लागि उनले अभिनेता अनुप बरालसँग तीन महिनाको अभिनय कोर्स लिइन् । गौशालास्थित नेपाल फिल्म क्याम्पसमा उनले अभिनय सिकिन् ।
मोडलिङ र ब्युटी पेजेन्टको पृष्ठभूमिबाट फिल्ममा आउन लागेकी नीतिलाई बरालले अभिनयका आधारभूत पक्षदेखि क्यामिनोमा उनले गर्न लागेको चरित्रबारे सिकाए । अभिनय सिकाइलाई नीतिले आफ्नो जीवनको रोमाञ्चक क्षण भएको बताएकी छन् ।
पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी नीतिले ‘एक्स नाइन लेभल वान’ समेत साइन गरेकी थिइन् तर त्यो प्रोजेक्ट रोकिएपछि ‘क्यामिनो’मा काम गर्न लागेकी हुन् । दक्षिण अमेरिकी मुलुक ब्राजिल र मेक्सिको हुँदै हिंडेर अमेरिका पुग्ने नेपालीको कथावस्तुमा फिल्म बन्न लागेको हो ।