‘छक्कापञ्जा ४’लाई टिकटक बन्यो चुनौती - Crazysaptahik.com

‘छक्कापञ्जा ४’लाई टिकटक बन्यो चुनौती

बक्स अफिसमा उछाल कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’लाई टिकटक र युट्युबजस्ता प्लेटफर्मलाई नियमन गर्नुपर्ने चुनौती थपिएको छ । शुक्रबारदेखि फिल्म रिलिज भएलगत्तै दर्शकले यी प्लेटफर्ममा एकदेखि १५ मिनेटसम्मका भिडियो क्लिप्स पोस्ट गरिरहेका छन् ।

महत्वपूर्ण दृश्य नै टिकटकमा बाहिरिंदा निर्मातालाई हैरानी भएको छ । ‘क्लिप्सहरु राखेर पूरा फिल्म नै टिकटकमा आउन थालेको छ । यसलाई नियमन गर्नुपर्ने चुनौती भएको छ,’ निर्माता तथा अभिनेता दीपकराज गिरीले भने ।

फिल्म हलमा नै कर्मचारी खटाएर यसबारे कडाइ गर्नुपर्ने माग उनको छ । टिकटकमा समस्या भएपछि निर्माताले हलहरुको छाता संस्था चलचित्र संघसँग आइतबार गुनासोसहित छलफल गर्दैछन् ।

साथै, प्रहरीको साइबर ब्युरोसँग पनि यसबारे छलफल भएको निर्माता गिरीले बताए । तर फिल्म बढी चल्ने दिन शुक्रबार र शनिबार नै साइबर ब्युरोमा काम नहुने भएपछि निर्मातालाई समस्या भएको छ ।

‘अपराध त बिदाको दिनमा पनि हुन्छ नि । तर साइबर ब्युरोमा शुक्रबार र शनिबार काम हुँदैन । यसले हामीलाई समस्या भएको छ,’ गिरीले भने । युट्युबमा पोस्ट हुने भिडियोलाई रिपोर्ट गरेर हटाउन सकिने भएपनि टिकटकमा चाहिं समस्या भएको उनले जनाए ।

टिकटकको यो समस्या छक्कापञ्जालाई मात्र होइन, अन्य फिल्मको छायांकनदेखि रिलिजसम्मै असर पु¥याइरहेको छ ।

सम्बन्धित खवर