दोस्रो सन्तानलाई जन्म दिने तयारीमा रहेकी गायिका रिहानाले आगामी मंगलबार बिहान हुने ओस्कार अवार्डमा सांगीतिक प्रस्तुति दिने भएकी छन् । मार्वल फिल्म ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’को चर्चित गीत ‘लिफ्ट मी अप’लाई उनले ओस्कारको स्टेजमा गाउने तय भएको एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले घोषणा गरेको छ ।
यो गीत ओस्कारको मौलिक गीततर्फ मनोनयन समेत भएको छ । ‘लिफ्ट मी अप’लाई रिहाना, टेम्स, लुडविग गोरेन्सन र फिल्मका निर्देशक रायन कुगलरले सहलेखन गरेका थिए । ओस्कारमा मनोनित हुने रिहानाको यो पहिलो गीत समेत हो ।
लेडी गागा र ब्लडपपद्वारा ‘टप गन : माभेरिक’को लागि लेखिएको ‘होल्ड माइ ह्यान्ड’ पनि उत्कृष्ट मौलिक गीत विधामा मनोनित भएको छ । मनोनयन भएका अन्य गीतमा फिल्महरु टेल इट लाइक अ वुमन, आरआरआर र एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स समेत छन् ।
रिहानाको लागि यो वर्ष भाग्यमानी बनेको छ । यो महिनाको सुरुमै उनले आफू दोस्रो सन्तानको आमा बन्न लागिरहेको घोषणा गरेकी थिइन् । सुपर बाउल कार्यक्रममा उनले प्रत्यक्ष प्रस्तुति समेत दिएकी थिइन् ।
‘वाकान्डा फरेभर’ यस सिजनमा पाँच ओस्कारका लागि मनोनित भएको छ र फिल्म अभिनेत्री एन्जेला बासेटले मार्वल फिल्मको लागि पहिलो पटक अभिनयमा नाम लेखाउने इतिहास रचेकी छन् ।