रहेनन् ‘जापान टोकियो’ गीतका गायक लम्साल, शवलाई स्पेनबाट नेपाल ल्याइने - Crazysaptahik.com

रहेनन् ‘जापान टोकियो’ गीतका गायक लम्साल, शवलाई स्पेनबाट नेपाल ल्याइने

लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ । १२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० वर्षीय गायक लम्सालको सोमबार राति निधन भएको उनका भान्जा तथा संगीतकार एवं गीतकार शिव हमालले जानकारी दिए ।

लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा हुन् । लम्साल पहिल्यैदेखि बिरामी थिए । उनलाई पछिल्लो समय पिसाबसम्बन्धी समस्या देखिएको थियो । लम्सालको पार्थिव शरीरलाई स्पेनबाट नेपाल ल्याइने भएको छ ।

भिडियो छायांकनका लागि पोखरा पुगेका उनका छोरा सागर पनि काठमाडौं फर्कंदैछन् ।राजेन्द्र लोक गायन क्षेत्रका पाका गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् ।

‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीत उनका लोकप्रिय छन् ।

‘जापान टोकियो’ उनको सर्वाधिक चर्चित गीत हो । गायकको नाम थाहा नपाएपनि धेरैको मुखमा यो गीत अहिले पनि झुण्डिएको छ ।उनको निधनमा कलाकर्मीले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिइरहेका छन् ।

गायिका शिला आलेले बाल्यकालबाटै लम्सालको आवाज सुन्दै आएको भन्दै लेखेकी छिन्, ‘बाल्यकालमा उहाँकै आवाजका गीत सुनेर गाउने प्रेरणा मिल्यो, साह्रै मीठो आवाज अनि मृदुभाषी आदरणीय दाजु राजेन्द्र लम्सालको निधनले स्तब्ध छु ।’

लोकगायक रामजी खाँडले पनि श्रद्धाञ्जली दिएका छन् । राजेन्द्रका सागरसहित ३ छोरा र १ छोरी छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.