‘छक्कापञ्जा ४’को उछाल : चार दिनमा ६ करोड हाराहारीमा कमाइ - Crazysaptahik.com

‘छक्कापञ्जा ४’को उछाल : चार दिनमा ६ करोड हाराहारीमा कमाइ

फिल्म ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । १४० हलमा प्रदर्शन भइरहेको फिल्मले प्रदर्शनको चार दिनसम्म ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ ।

सुरुवाती दुई दिनमा तीन करोड कमाएको फिल्मले सोमबार होलीको बिदामा डेढ करोडभन्दा बढी ग्रस कमायो । आइतबार मात्रै फिल्मको कमाइ झण्डै एक करोड हाराहारीमा रह्यो ।

वितरण कम्पनी ब्यांकटेसले चार दिनमा फिल्मको कमाइ झण्डै ६ करोड हाराहारीमा रहेको जनाएको छ । वितरक मनोज राठीले भने, ‘छक्कापञ्जाको कमाइलाई एउटा लहरको रुपमा हेर्नुपर्छ ।

यसको कमाइ तत्कालै रोकिने छाँटकाँट देखिंदैन ।’ मंगलबार तराई–मधेशमा हुने होलीपर्वको बिदामा फिल्मले देशव्यापी ७० लाख र बुधबार नारी दिवसको बिदामा पनि फिल्मले कम्तीमा एक करोड ग्रस गर्ने पक्का छ ।

यो ट्रेन्ड हेर्दा फिल्मको पहिलो साताको कमाइ आठ करोड हाराहारीमा पुग्ने देखिन्छ । ‘छक्कापञ्जा ४’को यो कुल कमाइमा मल्टिप्लेक्सको हिस्सा ७० प्रतिशत देखिन्छ । काठमाडौंसहित मोफसलका मल्टिप्लेक्स र सिंगल स्क्रिनमा फिल्मले उछाल कमाइ गरिरहेको छ ।

बुधबार नारी दिवसको छेकोमा रणवीर कपुर स्टारर बलिउड फिल्म ‘तु झूठी मैं मक्कर’ रिलिज हुँदैछ । नयाँ फिल्म रिलिज भएपनि ‘छक्कापञ्जा’को वेभलाई यसले असर पार्ने देखिंदैन, किनभने हल सञ्चालकले ‘छड्के २’को शोलाई कटौती गरेर यो हिन्दी फिल्मलाई दिइरहेका छन् ।

मल्टिप्लेक्सले छड्के २ को शोमा भारी कटौती गरेका छन् । बुधबार मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले छड्के २ लाई सिभिल मलमा एक शो मात्र दिएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको शीर्ष भूमिका रहेको कमेडी तथा पोलिटिकल ड्रामा ‘छक्कापञ्जा ४’लाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।

निर्माता तथा अभिनेता गिरीले टिकट नपाइएको भन्दै शो थप्नुपर्ने मागसहितका टेलिफोन आइरहेका बताएका छन् ।

सम्बन्धित खवर