सदस्यता नवीकरणको विवादलाई लिएर आगामी चैत ४ गते हुने भनिएको चलचित्र कलाकार संघको १९ औं महाधिवेशन तथा कार्यसमिति निर्वाचन रोकिएको छ । प्रवक्ता मोहन निरौलाले मंगलबार बसेको कार्यसमिति बैठकले आर्थिक प्रतिवेदन र सदस्यता विवादको टुंगो नलागेसम्म महाधिवेशनमा नजाने निर्णय गरेको बताए ।
‘सकेसम्म चैत ४ गते नै चुनाव गर्ने हाम्रो योजना हो । त्यो बेलासम्म विवादलाई टुंग्याएर आर्थिक प्रतिवेदन तयार पार्ने कार्य गर्छौं,’ उनले भने, ‘विवादरहित ढंगले निर्धारित मितिमै चुनाव गर्नेमा जोड हुन्छ । तर यी विवाद नटुंग्याइकन महाधिवेशनमा नजाने निर्णय भएको छ ।’
सदस्यहरु उत्तम केसी र रामकाजी घिमिरेले विवादबारे छानबिन गर्न माग गर्दै संघमा उजुरी दिएका थिए । विवाद चर्किएपछि अग्रज अभिनेता कृष्ण मल्लको संयोजकत्वमा छानबिन समिति पनि गठन भएको थियो ।
फागुन १२ गते बसेको समितिको बैठकले अध्यक्ष रविन्द्र खड्कालाई पत्र लेख्दै उजुरी र सूर्य चन्द तथा विजय विष्टको कार्डबारेको विवादमा स्पष्ट पार्न भनेको थियो ।फागुन ५ गते नै सदस्य केसीले संघमा उजुरी दिएका थिए । यसबारे जानकारी लिन अध्यक्ष खड्कासँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।