बलिउड अभिनेता शाहरुख खानको बङ्गला ‘मन्नत’ भित्र छिरेको आरोपमा अघिल्लो हप्ता दुई युवकलाई पक्राउ गरिएको थियो । मुम्बई प्रहरीले सुरुवाती अनुसन्धानपछि यी दुई युवक शाहरुख खानको मेकअप रुममा करिब ८ घण्टासम्म लुकेका थिए भन्ने जानकारी दिएको छ ।
प्रहरीले भने, ‘दुवै अभियुक्त शाहरुख खानलाई भेट्न उनको बङ्गलामा छिरेका थिए र करिब आठ घण्टासम्म मेकअप रुममा अभिनेतालाई प्रतीक्षा गरिरहे । उनीहरू करिब ३ बजे बङ्गलामा छिरेका थिए जहाँ उनीहरूलाई करिब साढे १० बजे पक्राउ गरिएको थियो ।’
प्रहरीका अनुसार दुवै युवक पर्खाल नाघेर बङ्गलामा छिरेका थिए ।यी दुई युवकको पहिचान साहिल खान र राम सराफ कुशवाहाको रूपमा भएको छ । प्रहरी सोधपुछका क्रममा युवकले आफ्नो उमेर २० र २२ वर्ष बताएका छन् र शाहरुखलाई भेट्न गुजरातको भरुचबाट आएको जानकारी दिए । प्रहरीले दुईलाई सोधपुछ गरिरहेको छ ।