‘छक्कापञ्जा ४’ लाई विदेशबाट दुई करोड, आजदेखि मध्यपूर्वका ५० हलमा रिलिज - Crazysaptahik.com

‘छक्कापञ्जा ४’ लाई विदेशबाट दुई करोड, आजदेखि मध्यपूर्वका ५० हलमा रिलिज

‘छक्कापञ्जा ४’को विदेश अधिकार दुई करोड रुपैयाँ नेटमा बिक्री भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले अमेरिका, युरोप, अष्ट्रेलिया, मध्यपूर्वसहित सबैतिरको बिक्री अधिकार जोड्दा उक्त रकम प्राप्त हुने बताए । देश थपिंदा अझै यो रकममा वृद्धि हुने देखिन्छ ।

घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको यो फिल्म आज (शुक्रबार)देखि मध्यपूर्वका चार मुलुक यूएई, कतार, ओमान र बहराइनमा शुक्रबारदेखि रिलिज भएको छ । वितरण कम्पनी नेपफिल्म्सले चार देशका ५० पर्दाबाट फिल्मलाई प्रदर्शन गर्न लागेको हो ।

‘कबड्डी ४’पछि मध्यपूर्वका धेरै हलमा रिलिज हुने फिल्म छक्कापञ्जा ४ रहेको वितरक रमेश ढकालले जानकारी दिए । उनका अनुसार साउदी अरब र कुवेतमा समेत फिल्म रिलिजको तयारी भइरहेको छ । ‘एड्भान्स बुकिङ राम्रो छ । पहिलो साता फिल्मले यी चार मुलुकमा मात्रै एक करोड कमाउने अनुमान छ,’ वितरक ढकालले दुबईबाट भने ।

नेपाल रिलिजको एक सातापछि खाडी मुलुकमा नेपाली फिल्मको बृहत प्रदर्शन हुन लागेको हो । गत महिना चलचित्र विकास बोर्डले दुबईमा आयोजना गरेको नेपाल सिनेमा फेस्टमा मध्यपूर्वमा फिल्म रिलिजको सम्झौता भएको थियो । मध्यपूर्वमा फिल्म रिलिज गर्न वितरक ती क्षेत्रमा व्यापक प्रचारप्रसार गर्दै आएका थिए । मध्यपूर्वमा १५ लाखभन्दा बढी नेपालीको बसोबास रहेको तथ्यांक छ ।

नेपफिल्म्सलाई फिल्म रिलिज गर्न गैरआवासीय नेपाली संघ लगायतका संघसंस्थाले पनि सहयोग गरिरहेका छन् । साउदीले अनुमति दिएमा कुल पर्दा संख्या ७० पुग्ने ढकालले बताए । ‘कबड्डी ४’ साउदीबाहेक मध्यपूर्वका ५८ हलमा रिलिज भएको थियो ।

अहिलेसम्म खाडी मुलुकमा धेरै कमाउने नेपाली फिल्म पनि कबड्डी ४ नै हो । रामबाबु गुरुङ निर्देशित अर्को फिल्म ‘जारी’ मध्यपूर्वमा वैशाख १ गतेदेखि प्रदर्शनमा आउनेछ ।

सम्बन्धित खवर