भेराइटीको ओस्कार प्रक्षेपण : ‘एभ्रिथिङ एभ्रिह्वेयर’ले फिल्म र ‘नाटु नाटु’ले गीततर्फ जित्न सक्छन् - Crazysaptahik.com

भेराइटीको ओस्कार प्रक्षेपण : ‘एभ्रिथिङ एभ्रिह्वेयर’ले फिल्म र ‘नाटु नाटु’ले गीततर्फ जित्न सक्छन्

प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले आगामी ओस्कार अवार्डको अन्तिम प्रक्षेपण गरेको छ, जसको शीर्ष विधामा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’को दबदबा हुने देखिएको छ । सर्वश्रेष्ठ फिल्मसँगै निर्देशक, अभिनेत्री, सहअभिनेता, मौलिक पटकथा विधामा फिल्मले जित्ने प्रक्षेपण गरिएको छ ।

ओस्कारको ९५ औं संस्करण नेपाली समयानुसार आगामी मंगलबार बिहान वितरण हुँदैछ । ‘एभिथ्रिङ एभ्रिह्वेयर अल एट वन्स’को सम्भावित ऐतिहासिक जित हुनेछ,’ भेराइटी लेखेको छ । सर्वश्रेष्ठ अभिनेत्री विधामा मिसेल योहले जितेमा उनी ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री र दोस्रो गैरश्वेत अभिनेत्री बन्नेछिन् ।

सहअभिनेता विधामा जितेमा के ह्यु क्वान दोस्रो एसियाली विजेता बन्नेछन् । अभिनेत्रीतर्फको विधामा कतिपयले दुईपटक ओस्कार जितिसकेकी ‘टार’ अभिनेत्री केट ब्लान्चेटलाई दाबेदारको रुपमा हेरेका छन् तर सागसहितका अवार्डमा जितसँगै यसपटक मिसेल योहको सम्भावना बलियो छ ।

सर्वश्रेष्ठ अभिनेताको विधामा फिल्म ‘एल्भिस’बाट अस्टिन बट्लरले जित्न सक्ने प्रक्षेपण गरिएको छ । सहअभिनेत्री विधामा ‘द बान्सिस अफ इनिसिरिन’बाट केरी कोन्डोन, एडप्टेड स्क्रिनप्लेमा ‘वुमन टकिङ’, प्रोडक्सन डिजाइनमा ‘बेबीलोन’, छायांकनमा नेटफ्लिक्स फिल्म ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’, कस्ट्युम डिजाइन विधामा ‘एल्भिस’ले जित्न सक्ने अनुमान छ ।

सम्पादन विधा र ध्वनिमा ‘टपगन माभेरिक’, भिजुअल इफेक्टमा ‘अवतार ः द वे अफ वाटर’, ओरिजिनल स्कोरमा ‘द फेबलम्यान्स’, मौलिक गीतमा आरआरआर फिल्मको ‘नाटु नाटु’, डकुमेन्ट्री फिचरमा ‘नाभाल्नी’, अन्तर्राष्ट्रिय फिचर विधामा जर्मनीको ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’, डकुमेन्ट्री सर्टमा ‘एलिफेन्ट विह्स्पर्स’ले ओस्कार जित्न सक्ने प्रक्षेपण गरिएको छ ।

सम्बन्धित खवर