पहिलो साता ‘छक्कापञ्जा ४’को कमाइ आठ करोड हाराहारीमा - Crazysaptahik.com

पहिलो साता ‘छक्कापञ्जा ४’को कमाइ आठ करोड हाराहारीमा

‘छक्कापञ्जा ४’ले पहिलो साता घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरेको छ । गत शुक्रबार रिलिज भएको फिल्मले पहिलो साता आठ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । दोस्रो शुक्रबारको कमाइ जोड्दा कलेक्सन आठ करोड माथि उक्लिने प्रक्षेपण छ ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले फिल्मले पहिलो साता उक्त कमाइ गरेको जानकारी दिए । बक्स अफिस तथ्यांकअनुसार फिल्मले औसत दैनिक एक करोड हाराहारीमा कमाइ गरेको देखिन्छ । चितवनबाट मात्रै फिल्मले एक करोड कमाइ गरेको छ ।

काठमाडौं उपत्यकाबाहिर समेत फिल्म बजारको तीव्र विस्तार हुँदै गएको यो कमाइले देखाएको छ । दोस्रो सप्ताहन्तमा समेत फिल्मको कमाइ पुनः उकासिने अपेक्षा वितरकको छ । दोस्रो शुक्रबार बिहानी शोको अकुपेन्सीमा केही गिरावट देखिएपनि मध्यान्हपछि क्रमशः बढेको देखिन्छ ।

चलेको ब्राण्ड भएकाले पनि छक्कापञ्जाको चौथो श्रृंखलाले आक्रामक कमाइ गर्ने अपेक्षा थियो । दोस्रो सातादेखिको कमाइ विशुद्ध ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । दोस्रो साताको कमाइ र अकुपेन्सी फिल्मको आफ्नै बलियोपन परीक्षण हुने समय पनि हो ।

छक्कापञ्जाका अघिल्ला तीनै श्रृंखलाले घरेलु बक्स अफिसमा दुई अंकको कमाइ गरेका छन् । अघिल्ला तीनै श्रृंखलाको रेकर्ड तोड्न पनि दोस्रो र तेस्रो साता फिल्मका लागि महत्वपूर्ण समय हो । हेमराज बीसी निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाह, अनुराग कुँवर, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, राज आचार्य लगायतको अभिनय छ । राजनीतिक कथावस्तुमा निर्माण भएको फिल्मलाई आमा सरस्वती मुभिज र आईएमईले निर्माण गरेका हुन् ।

सम्बन्धित खवर