राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा राजेन्द्र बजगाई - Crazysaptahik.com

राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा राजेन्द्र बजगाई

राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा सङ्गीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न प्रतिष्ठानको पहिलो साधारण सभाबाट बजगाई निर्विरोध निर्वाचित भएका हुन् । दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण पदमा निर्विरोध भएको थियो ।

जस अन्तर्गत उपाध्यक्षमा मोडल उषा उप्रेती, महासचिवमा सङ्गीतकार दीपक शर्मा, सचिवमा गायिका सुजाता केसी, कोषाध्यक्षमा गायक नारायण बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा भद्र बहादुर वली, महेन्द्र चन्द (माइकल), भुवन बहादुर नेपाली, पुष्कर सुनुवार, रिता केसी, उत्तम प्रसाद अधिकारी, शिलन लम्साल, मनोज परियार, नवराज उप्रेती, सबिन सुबेदी, बेनिस पौडेल र प्रतिक्षा काफ्ले निर्विरोध निर्वाचित भएका हुन् ।

खानेपानी मन्त्री माननीय अब्दुल खानको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा संस्थालाई सहयोग पुर्याउने बिभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । प्रेस सल्लाहकार समेत रहेका तथा संस्थाको नामकरण गर्ने पत्रकार बिष्णु प्रसाद सुबेदी सहित सञ्चार माध्यमबाट सहयोग पुर्याएका पत्रकारहरू कुबेर गिरी, रघुनाथ सापकोटा, बाबुराम सिग्देल, गीता अधिकारी, सानु श्रेष्ठ, कृष्ण भुसाल, राज लुइँटेललगायतलाई पनि सम्मान गरिएको छ ।

यस्तै कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग पुर्याएका अन्य स्रष्टा तथा प्रस्तोताहरूलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै संस्थाका संरक्षक वरिष्ठ कला साधक तथा वरिष्ठ चिकित्सक डा. भोला रिजालले संस्थाको उद्देश्य मन परेर आफूले संरक्षकत्व प्रदान गरेको जनाए ।

उनले संस्थालाई सही मार्गमा हिँड्न सदैव आफ्नो अभिभावकिय भूमिका रहने पनि बताएका छन् । यस्तै खानेपानी मन्त्री खानले आफू पहिले देखि नै कला प्रेमी रहेको बताउँदै आफ्नो व्यक्तिगत तथा मन्त्रालय र नेपाल सरकारका तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको जनाएका छन् ।

कार्यक्रममा पत्रकार सुबेदी, वरिष्ठ सङ्गीतकार टिका भण्डारी, संस्थाका कानुनी सल्लाहकार राजेन्द्र शर्मा, अधिवक्ता गीता पोखरेल र संस्थाका सल्लाहकार माधव खरेलले संस्थाको आर्थिक विकासका लागि जनही १० हजार सहयोग प्रदान गरेका थिए । यस्तै संरक्षक डा रिजालले २५ हजार सहयोग प्रदान गरेका छन् ।

सङ्गीतकार सङ्घका अध्यक्ष चेतन सापकोटा, रोयल्टी सङ्कलन समाजका महासचिव बि. पाण्डे, वरिष्ठ गायक रामकृष्ण ढकाल, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरी, वरिष्ठ सङ्गीतकार टिका भण्डारीलगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै विभिन्न व्यक्तिहरूले संस्था जन्माउनु मात्र प्रमुख कुरा नभएर यसले कसरी काम गर्छ भन्ने महत्त्वपूर्ण भएको जनाए ।

कला क्षेत्रमा थुप्रै संस्थाहरू रहेको भन्दै ती सबैभन्दा फरक र अब्बल हुन नवनिर्वाचित कार्यसमितिलाई सुझाव समेत दिएका छन् । कार्यक्रममा महासचिव दीपक शर्माले संस्था स्थापना देखि हालसम्म भए गरेका काम बारे जानकारी गराएका थिए । यस्तै अध्यक्ष बजगाईले संस्था स्थापनको उद्देश्य देखि आगामी कार्ययोजनाका बारे प्रस्ट पारेका थिए ।

सम्बन्धित खवर