काठमाडौंमा पहिलो महिला फिल्म फेस्टिभल सकियो, १५ फिल्म प्रदर्शन - Crazysaptahik.com

काठमाडौंमा पहिलो महिला फिल्म फेस्टिभल सकियो, १५ फिल्म प्रदर्शन

किपालय प्रोडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वल अभियानसँग मिलेर गत शुक्रबार एक दिने महिला केन्द्रित फिल्म फेस्टिभलको आयोजना ग¥यो । ‘वुमन मेक फिल्म फेस्ट’ शीर्षकमा ओस्कार इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका फिल्म देखाइएको थियो ।

फेस्टिभलमा सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका १५ वटा फिल्म देखाइएको प्रोडक्सनले जनाएको छ । फेस्टिभलमा समावेश फिल्म तीन स्लटमा प्रदर्शन गरिएको थियो । पहिलो स्लटमा पाँच फिल्म देखाइएको थियो जसमा कल्पना बम र प्रतिभा पन्त निर्देशित ‘द जर्नी अफ इनोसेन्स’, मीरा खड्का र अस्मिता लावती निर्देशित ‘वन रुपी’, श्रीषा कुँवर र एन्जिला चौधरी निर्देशित ‘मेरो बुवा’, डिम्पल राजथला र भावना अधिकारी निर्देशित ‘खुल्ला आकाश’ तथा पुष्पा जोशी र सपना बेलबासे निर्देशित ‘भेइल्ड’, प्रदर्शन गरिएको थियो ।

दोस्रो स्लटमा चार फिल्म देखाइएको थियो जसमा पिंकी श्रीष राना र एलएसएम निर्देशित ‘हजुर’, शुभांगी खड्का निर्देशित ‘मदर्स स्कुल’, शर्मिला आले निर्देशित ‘साउन्ड अफ ब्यांगल’, मुना बिके र सरला सुनुवार निर्देशित ‘आन्टीको गाउँ’ प्रदर्शन भएका थिए ।

अनु रावत र सम्झना चौधरीको निर्देशन रहेको ‘ह्युमन ट्राफिकिङ’, हेमा सुनार, गोविन्द राना र टीकाराम विकको निर्देशन रहेको ‘मेन्टल हेल्थ’, न्यान्सी शाह र पूजा परियारको निर्देशन रहेको ‘चाइल्ड म्यारिज’, सुरज गुरुङ र चेतना केसीको निर्देशन रहेको ‘एम आई गुड इनफ’, अञ्जली घर्ती मगरको ‘एउटा कथा’ र तृषा ढकालको ‘डियर डायरी’ अन्तिम स्लटमा देखाइएको थियो ।

किपालयले महिलाले बनाएका फिल्म मात्र प्रदर्शन गरिनु आफैंमा पहिलो प्रयोग भएको र यसमा महिला निर्माता निर्देशकको उत्साहजनक सहभागिताले हौसला दिएको बताएका छन् । किपालय प्रमुख आश्मा पोखरेलले यो सालको फेस्टिभल सानो स्केलमा गरिएपनि आगामी साल यसलाई बृहत् बनाउने योजना रहेको बताएका छन् ।

‘यो साल हामीले सानो स्केलमा ट्रायलको रुपमा नेपाली फिल्ममेकरका मात्र फिल्म देखाएर सुरुवात गरेका हौं । आउँदो साल विदेशी फिल्म र फिल्ममेकरलाई पनि सहभागी गराएर दुई तीन दिनको भव्य फेस्टिभल गर्ने योजना छ,’ आश्माले भनिन् । यसका लागि बेलायत र युरोपका महिला फिल्म फेस्टिभलसँग सहकार्यको कुरा अगाडि बढिरहेको पनि उनले जानकारी गराएकी छन् ।

सम्बन्धित खवर