भारतका दुई फिल्मलाई ओस्कार, ‘नाटु नाटु’ मौलिक गीततर्फ सर्वोत्कृष्ट - Crazysaptahik.com

भारतका दुई फिल्मलाई ओस्कार, ‘नाटु नाटु’ मौलिक गीततर्फ सर्वोत्कृष्ट

नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्डमा भारतीय फिल्मले दुई विधामा जित हात पारेका छन् । निकै चर्चा र अघिल्ला अवार्डको जितसँगै एसएस राजामौली निर्देशित ‘आरआरआर’को गीत ‘नाटु नाटु’ सर्वश्रेष्ठ मौलिक गीतको विधातर्फ विजयी भयो ।

तमिल वृत्तचित्र निर्माता कार्तिकी गोन्साल्विसद्वारा निर्देशित ‘द एलिफेन्ट विह्स्पर्स’ले सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट विधातर्फ जित्यो । यी दुई फिल्मको जितसँगै भारतीय फिल्म वृत्तमा खुसीको सञ्चार भएको छ । डकुमेन्ट्री फिचर फिल्म ‘अल द्याट ब्रिदस्’बाट भारत बाहिरिएको छ ।

ओस्कार अवार्डमा भारतले यी तीन विधामा मनोनयन पाएको थियो । यसअघि गोल्डेन ग्लोब्स अवार्डमा ‘नाटु नाटु’ले उत्कृष्ट मौलिक गीतको उपाधि जितेको थियो । संगीकार एमएम कीरावाणी र कोरियोग्राफर चन्द्रबोसले ओस्कार समारोहमा ट्रफी उचाले ।

यसबाहेक ‘द एलिफ्यान्ट व्हिस्परर्स’का निर्देशक कार्तिकी र निर्माता गुनीत मोंगाले अवार्ड उचाले । समारोहमा उपस्थित अभिनेत्री दीपिका पादुकोण भावुक भइन् । उनी प्रेजेन्टरको रुपमा प्रस्तुत भएकी थिइन् ।

ओस्कारको मञ्चमा कलाकारले नाटु नाटु गीतमा प्रस्तुति दिंदा समारोहको पछिल्लो सिटमा रहेका निर्देशक राजामौलीसहितको टोलीले ताली बजाइरहेको थियो । ओस्कार रेडकार्पेटमा पनि आरआरआरका कलाकारहरु प्रस्तुत भएका थिए ।

सम्बन्धित खवर