ओस्कारको स्याम्पेन कार्पेटमा गर्भवती रिहानादेखि लेडी गागासम्मको फेसन - Crazysaptahik.com

ओस्कारको स्याम्पेन कार्पेटमा गर्भवती रिहानादेखि लेडी गागासम्मको फेसन

ओस्कार अवार्ड भन्ने बित्तिकै दुई कुराको याद आउँछ, रेडकार्पेट र फेसन । ६ दशकपछि यस वर्ष रेडकार्पेट हटाएर स्याम्पेन कलरको कार्पेट बिच्छाइएको थियो, जहाँ विश्व चर्चित सेलिब्रिटीले फेसनको सौन्दर्य छरे । सर्वश्रेष्ठ अभिनेत्री विधामा ओस्कार जितेकी मिसेल योह, गर्भवती रिहानादेखि लेडी गागासम्मका कलाकारको स्याम्पेन कार्पेटमा उपस्थिति देखियो ।

यस वर्षको कार्पेटमा क्लासिक र प्रयोगात्मक फेसनको मिश्रण थियो । कालो, सेतो र बोल्ड रंगहरू एकपछि अर्को नयाँ लुकमा हाबी भए । फ्लोरेन्स पगले कालो सर्टसँग र डिज्नीको आगामी फिल्म ‘लिटिल मर्मेड’ स्टार ह्याले बेलीले नीलो गाउनमा फेसनको जादू छरे ।

फेसनको मामिलामा मनोनित कलाकारले निराश तुल्याएनन् । ‘ब्ल्याक प्यान्थर ः वाकान्डा फोरएभर’मार्फत मनोनयन भएकी एन्जेला बासेट रोयल लुक्समा आकर्षक देखिइन् । अनुमान लगाएजसरी अभिनेत्री मिशेल योह बादलको रङजस्तै सेता गाउनमा उपस्थित भइन् ।

पल मेस्कलले फ्लेर्ड प्यान्टको साथ गुच्ची सुट लगाएका थिए । हङ चाउले फेसन ब्राण्ड प्रादालाई आफ्नो पोसाकमा आकार दिइन् । यो पहिरन आफ्नो विरासतका लागि भएको उनको भनाइ थियो । नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा ९५ औं संस्करणको ओस्कार अवार्ड आयोजना भएको थियो ।

सम्बन्धित खवर