आमिर खान रेलले काटिनबाट जोगिएका थिए : युवतीले अस्वीकार गर्दा टाउको खौरिए, गुलामका लागि १२ दिनसम्म नुहाएनन् - Crazysaptahik.com

आमिर खान रेलले काटिनबाट जोगिएका थिए : युवतीले अस्वीकार गर्दा टाउको खौरिए, गुलामका लागि १२ दिनसम्म नुहाएनन्

अर्थात् मार्च १४ तारिखमा बलिउडका परफेक्शनिस्ट भनिने आमिर खान ५८ वर्षका भएका छन् । उनको फिल्मी करियरको पनि ५० वर्ष पुगेको छ । उनको अभिनय करियर उनी ८ वर्षको हुँदा फिल्म ‘यादों की बारात’बाट सुरु भएको थियो र यो आजसम्म जारी छ ।

यो फरक कुरा हो कि आमिरका बुवाले उनी फिल्ममा आउन् भन्ने चाहेका थिएनन् । ठुलो बुवा नासिर हुसैनले उनीमा रहेको अभिनेतालाई चिने र उनलाई आफ्नो फिल्मबाट ब्रेक दिए । ‘कयामत से कयामत तक’ देखि ‘लाल सिंह चड्ढा’सम्म आमिरले ५० वटा फिल्म गरेका छन् ।

उनको जीवन निकै रोचक रह्यो । एउटी केटीले अस्वीकार गर्दा आमिरले आफ्नो टाउको खौरिए, र त्यो पनि जब उनको पहिलो फिल्मको अडिसन भइरहेका बेला । यस्तै, उनले फिल्म गुलामको क्लाइमेक्सका लागि १२ दिनसम्म नुहाएका थिएनन् ।

आमिरको जन्मदिनमा, उनको फिल्म यात्रा र जीवनका केही पक्षबारे जानकारी लिऔँ ।

आमिर खानको जन्म १४ मार्च १९६५ मा निर्माता ताहिर हुसैन र जीनत हुसैनको घरमा भएको थियो । उनको पूरा नाम मोहम्मद अमिर हुसैन खान हो । चार दाजुभाइमध्ये जेठो, आमिरका ठुलो बुवा नासिर हुसेन, आफ्नो समयका प्रसिद्ध फिल्म निर्माता थिए । आमिरका पिताका धेरै फिल्म फ्लप भएका थिए जसका कारण उनको परिवारले आर्थिक संकटको सामना गर्नुपरेको थियो ।

ताहिर कंगाल भइसकेका थिए र स्थिति यस्तो पनि आयो कि उनका बुवा ४० वर्षको उमेरमा जागिर खानका लागि घरमा ग्रेजुएशनको डिग्री खोजिरहेका थिए । ऋण दिनेहरुले घरमा दिनदिनै फोन गर्दथे । पैसा तिर्न नसकेर स्कुलबाट निकालिने पो हो कि भन्ने डरै डरमा आमिरको बाल्यकाल बित्यो ।

आमिर खान स्कुल पढ्दा टेनिस खेल्थे । उनी खेल्ने क्लबमा एउटी केटीसँग उनको एकतर्फी प्रेम थियो । एक दिन अचानक आमिरलाई थाहा भयो कि केटी आफ्नो परिवारसँग बिना जानकारी विदेश गइन् । यो थाहा पाएर आमिर नराम्ररी टुटेका थिए ।

यो उनको पहिलो ‘हार्ट ब्रेक’ थियो । आमिरले आफू टुटेको बताए तर फाइदा यो थियो कि उनले राम्रो टेनिस खेल्न थाले । आमिर आफैंले लाल सिंह चड्ढाको गीत सार्वजनिक गर्ने क्रममा यो कथा लाइभमा भनेका थिए ।

पहिलो फिल्ममा नै देखिएको थियो परफेक्सनको नमूना

‘यादों की बारत’ फिल्मको एउटा दृश्यका लागि ८ वर्षका आमिरले कल्पना गर्दै गितार बजाउनु थियो । आमिरलाई गितार बजाउन आउँदैनथ्यो । आमिरले गितार बजाउने अभ्यास गरिरहेको थाहा पाएपछि नासिरले पूरै सुटिङ रोके । पूरै युनिटले आमिरले गितार नसिकेसम्म प्रतीक्षा गरिरहे ।

ताहिर आफ्नो छोरालाई यो पेशामा संलग्न गराउन चाहँदैनथे । आमिरलाई इन्जिनियर वा डाक्टर बनाउने उनको चाहना थियो । १६ वर्षको उमेरमा आमिर आफ्ना साथी आदित्य भट्टाचार्यको मौन फिल्म परनियामा सहायक निर्देशक बनेका थिए । श्रीराम लागूले उनलाई यो फिल्मका लागि केही हजार रुपैयाँ दिएका थिए, तर बाबुको डरले गोप्य रूपमा सुटिङमा जानुपरेको थियो ।

यो फिल्मको सुटिङका क्रममा आमिरले नायक बन्ने निर्णय गरेका थिए । एक वर्ष थिएटरमा अभिनय सिकेपछि आमिरले आफ्ना ठुलो बुवा नासिर हुसैनलाई सहयोग गर्न थाले । आमिर मन्जिल–मन्जिलमा सहायक निर्देशक थिए ।

सहायक निर्देशक भएको भन्दै सेटमा अमरीश पुरीले गाली गरे

अमरीश पुरीले सन् १९८५ मा नासिर हुसैनद्वारा निर्देशित फिल्म जबरादमा अभिनय गरेका थिए । यस फिल्ममा निर्देशक नासिर हुसैनका भतिजा आमिरले उनलाई सहयोग गरिरहेका थिए । त्यतिबेला आमिरलाई सेटमा सधैँ देखिन्थ्यो ।

एक दिन अमरीश एक एक्सन दृश्य शूट गर्दा बारम्बार ठाउँ परिवर्तन गर्दै थिए र आमिरले उनलाई बारम्बार अवरोध गरिरहेका थिए ।अमरीशलाई थाहा थिएन कि आमिर निर्देशक नासिरका छोरा हुन् । जब अमरीशले आमिरको ध्यानाकर्षणका कारण बारम्बार एउटै दृश्य शूट गर्नुपर्योन, तब उनी रिसाए र आमिरलाई बेस्सरी गाली गरे । सेटमा सन्नाटा छायो ।

केही समयपछि नासिर अमरीशकहाँ आएर यस्तो गर्नु आमिरको गल्ती नभई उनको गल्ती भने सच्याइरहेको बताए । पछि अमरिशले पछुताउँदै आमिरसँग माफी पनि मागेका थिए । यो सन् १९८३ को कुरा हो जब आमिर खानले आफ्नो टाउको खौरेका थिए ।

मानिसहरूले सोचेका थिए कि उनले यस्तो फिल्मका लागि गरे, यद्यपि उनले यस्तो मन टुटेपछि गरेका थिए । वास्तवमा आमिर एक युवतीसँग प्रेम गर्दथे तर एक दिन ती युवतीले ‘म तिमीलाई माया गर्दिनँ’ भन्दै आमिरलाई छोडेर गइन् । यसबाट आमिर यति दुखी भएका थिए कि उनले आफ्नो रिस पोख्नका लागि टाउको खौरिए । यो कथा आमिर आफैले सिमी गरेवालको च्याट शोमा सुनाएका थिए ।

जुहीले किसिङ सीन दिन अस्वीकार गरिन्

आमिर खानले पहिलो फिल्म ‘कयामत से कयामत तक’ मा नै किसिङ सिन दिएका थिए । सुटिङका क्रममा जुहीले आमिरसँग यो दृश्य दिन अस्वीकार गरिन्, जसका कारण सुटिङ बन्द गर्नुपरेको थियो । आमिरलाई पनि यो कुरामा निकै नराम्रो लागेको थियो । पछि निर्देशक मन्सूर खानको आग्रहमा जुही राजी भइन् ।

रिलिज हुनुअघि आमिर खान आफैँ सडकमा घुम्दै विभिन्न ठाउँमा पोस्टर टाँसेका थिए । फिल्मका लागि ८ वटा भन्दा बढी टिकट किन्ने जो कोहीले पनि आमिर–जुहीको पोस्टर उपहार स्वरुप पाउने निर्माण पक्षले घोषणा गरेको थियो ।

आमिर र जुही दुवैलाई स्टारडममा पुर्याउँदै यो फिल्म ठूलो हिट साबित भयो । फिल्मले ७ फिल्मफेयर अवार्ड जित्यो, जसमा आमिरले बेस्ट मेल डेब्यु अवार्ड पाए । क्राइम थ्रिलर ‘राख’ का लागि आमिरले सन् १९८९ मा पहिलो राष्ट्रिय पुरस्कार पाएका थिए ।

८० को दशकमा हिन्दी सिनेमामा रिमेक र एडल्ट फिल्महरूको यस्तो जमाना थियो कि अधिकांश फिल्महरू फ्लप भएका थिए । यसैबीच, आमिरको कयामत से कयामत तकमा युवा जोडीको रोमान्सले हिन्दी सिनेमामा रोमान्टिक म्युजिकल ड्रामा फिल्मको चलन सुरु भयो । त्यसपछि मैने प्यार किया, हम आपके है कौन, दिलवाले दुल्हनिया ले जायेंगे जस्ता हिट फिल्म आए ।

सन् १९९० मा आमिर खानले ‘अव्वल नम्बर, तुम मेरे हो, दीवाना मुझसा नही, जवानी जिन्दाबाद र दिल’ गरी पाँचवटा फिल्ममा अभिनय गरेका थिए । दिल सन् १९९० को सबैभन्दा धेरै कमाउने फिल्म थियो भने अन्य ४ फिल्म नराम्ररी फ्लप भए ।

पुनः हिट दिएर जिते मन

लगातार फ्लप दिएपछि आमिरले जो जीता वही सिकन्दर, हम हैं राही प्यार के, रंगीला, राजा हिन्दुस्तानी, इश्क, सरफरोश जस्ता धेरै हिट फिल्म दिँदै कहिल्यै पछाडि फर्केर हेर्नु परेन । आमिरको करियरमा ‘अंदाज अपना–अपना’ जस्तो फिल्म पनि छ, जुन रिलिजपछि घाटामा थियो तर पछि यसले कल्ट क्लासिकको दर्जा पाएको थियो ।

गुलाम फिल्मका लागि आमिरले धेरै दिनसम्म नुहाएनन्

फिल्म गुलाममा भिलेनबाट कुटाई खाने एक दृश्यमा आमिरको हालत खराब देखिनुपर्ने थियो । यो दृश्यलाई उत्कृष्ट बनाउनका लागि आमिरले १२ दिनसम्म नुहाएका थिएनन् । नुहाउन छाडेको सुरुवाती दिनमा नै आमिरलाई उकुसमुकुस हुन थालेको थियो । यो फिल्मका लागि रेलको अगाडि रेस गर्ने सीनको सुटिङका क्रममा आमिरको बालबाल ज्यान बचेको थियो ।

आमिरले एउटा हरियो झण्डा लिएर ट्र्याकमा आइरहेको रेलतर्फ दौडनुपर्ने थियो । रेल नजिक आएपछि निर्माताले आमिरलाई ट्र्याकबाट हट्न भने तर आमिर दौडिरहे । रेल यति नजिक आइसकेको थियो कि सेटमा भएका मानिस डराउन थालिसकेका थिए ।

किसिङ सिनका लागि राजा हिन्दुस्तानीको ४७ टेक

आमिर खानले राजा हिन्दुस्तानीमा करिश्मा कपूरसँग १ मिनेटको किसिङ सीन दिएका थिए । यो त्यो समयको सबैभन्दा लामो किसिङ दृश्य थियो । पारिवारिक फिल्ममा यति लामो किसिङ दृश्य देखेर सबै छक्क परेका थिए, जसका कारण निर्माताले निकै आलोचनाको सामना गर्नुपरेको थियो ।

यो एउटा सीनको सुटिङ गर्नका लागि ४ दिनको कडा मेहनत लागेको थियो । यसलाई ऊटीको चिसोमा झमझम पानी परिरहेका बेला सुट गरिएको थियो । यो दृश्यलाई उत्कृष्ट बनाउनका लागि ४७ टेक लिइएको थियो । करिश्माले एक अन्तरवार्ताका क्रममा आफू र आमिरलाई सुटिङका क्रममा निकै असहज भएको र यो दृश्य छिट्टै फाइनल होस् भनेर प्रार्थना गरिरहेको बताएकी थिइन् तर दुःखको कुरा यस्तो हुन सकेको थिएन ।

लगानको सेटमा किरण रावसँग प्रेम बस्यो

फिल्म लगानको सुटिङका बेला नै आमिरको भेट किरण रावसँग भएको थियो । उनी यो फिल्मको सहायक निर्देशक थिइन् । सुटिङका बेला किरण र आमिरबीच निकटता बढ्यो र त्यसको अर्को वर्ष नै उनले जेठी श्रीमती रिनासँग सम्बन्ध विच्छेद गरे । सम्बन्धविच्छेदपछि दुई सन्तान आइरा र जुनैदको कस्टडी रिनाले पाएकी थिइन् ।

तीन वर्षसम्म सम्बन्धमा रहेपछि आमिरले किरणसँग सन् २००५ मा विवाह गरेका थिए । उनीहरुका एक छोरा आजाद छन् जसको जन्म सरोगेसीमार्फत् भएको हो । १५ वर्षसम्म चलेको यो विवाहको अन्त्य सन् २०२१ मा भयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.