‘छक्कापञ्जा ४’ चल्दा ‘फूलबारी’लाई फाइदा, कमाइ ४ करोड ग्रस नाघ्यो - Crazysaptahik.com

‘छक्कापञ्जा ४’ चल्दा ‘फूलबारी’लाई फाइदा, कमाइ ४ करोड ग्रस नाघ्यो

‘छक्कापञ्जा ४’ले दोस्रो सातामा पनि सुखद् कमाइ गरिरहँदा यसको फाइदा ‘फूलबारी’लाई मिलेको छ । व्यापारमा ‘ड्रप’ भइसकेको फूलबारीको कमाइ ‘छक्कापञ्जा ४’ रिलिज भएपछि पुनः उकालो लागेको छ । विपिन कार्की स्टारर फिल्मले २४ दिनसम्म घरेलु बक्स अफिसमा साढे चार करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ ।

पहिलो साता नै लगानी उठाइसकेको ‘फूलबारी’लाई सकारात्मक समीक्षा र बलियो ‘वर्ड अफ माउथ’ले साथ दिएको थियो । छक्कापञ्जा ४ हाउसफुल चल्दा मल्टिप्लेक्सले यसलाई कम्तीमा ५ देखि १० शोसम्म दिंदै आइरहेका छन् । बुधबार मध्यान्ह ‘छक्कापञ्जा’को अकुपेन्सी ५० प्रतिशत हाराहारीमा हुँदा ‘फूलबारी’को ५ देखि १० प्रतिशतमा अकुपेन्सी देखिएको छ ।

छक्कापञ्जा ४ को ‘ओभरफ्लो’को फाइदा फूलबारीलाई भएको हो ।विपिन कार्कीको पछिल्लो फिल्म ‘के घर के डेरा’ थियो जसले बक्स अफिसमा आफूलाई सफल तुल्याउन सक्यो । कोरोना महामारीपछि विपिनका दुबै फिल्म बक्स अफिसमा हिट छन् । आगामी चैत २४ मा उनको शीर्ष भूमिका रहेको ‘प्रसाद २’ रिलिज हुँदैछ ।

‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’मा विपिनले ६० वर्षे अवकाशप्राप्त सरकारी शिक्षकको भूमिका निर्वाह गरेका छन् । अभिभावक र सन्तानबीचको सम्बन्धको कथा पेस गर्ने फिल्मलाई पारिवारिक दर्शकले रुचाए ।

यो फिल्म अहिले पनि प्रमुख विदेशी बजारहरुमा प्रदर्शन भइरहेको छ । निर्देशक गुरुङ वैशाख १ गते रिलिजको तयारीमा रहेको ‘जारी’मा व्यस्त छन् भने लगत्तै ‘डिग्री माइला’ फिल्मको छायांकनमा जाने तयारी छ ।

सम्बन्धित खवर