‘ज्याकी : आइटम ट्वान्टी वान’को मौलिक गीत ‘कथा’मा रोमान्टिक धीरज र जसिता - Crazysaptahik.com

‘ज्याकी : आइटम ट्वान्टी वान’को मौलिक गीत ‘कथा’मा रोमान्टिक धीरज र जसिता

तपाईंलाई गायनमा आधारित प्रेमकथामा रुचि छ भने फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’ खास हुन सक्छ । घरेलु फिल्मको नृत्य निर्देशनमा कहलिएकी रेनशा राई निर्देशित फिल्म हुने बित्तिकै नृत्य विशेष हुने भइहाल्यो । यो डान्स ड्रामा फिल्मको केन्द्रीय कथावस्तु नै शीर्ष पात्रले नृत्यमा अब्बल बन्न गर्ने संघर्ष हो ।

यही कथ्यलाई ध्यानमा राखेर शुक्रबार फिल्मको मौलिक गीत (ओएसटी) ‘कथा’ सार्वजनिक भएको छ, जहाँ फिल्मका दुई शीर्ष कलाकार धीरज मगर र जसिता गुरुङ फिचर्ड छन् । दुई पात्रको रोमान्टिक संवादसहित सुरु हुने गीतले तन्नेरीबीचको प्रेमलाई लिएर मुड सिर्जना गर्छ ।

जसिताले धीरजलाई के तिम्रो प्रेमिका छ भनेर सोध्दा गीत सुरु हुन्छ र यी दुई पात्र नाच्न थाल्छन् ।द वाइल्ड रिपर्ज क्रिउको नृत्य निर्देशन रहेको गीत हेर्दा संसारका चर्चित डान्स ड्रामा फिल्मको याद आउँछ । कथासँगै गीतलाई एकैसाथ प्रस्तुत गर्न सक्नु यो गीतको विशेषता हो ।

वसन्तपुर दरबार स्क्वायर र स्वयम्भूको लोकेसन आकर्षक लाग्छ । गल्लीदेखि सुरु भएर स्वयम्भूको डाँडामा टुंगिएको कोरियोग्राफीले दर्शकलाई म्युजिकल जर्नीमा लैजान्छ । त्रिशला गुरुङ र रोहित शाक्यको स्वरमा रहेको गीतको कम्पोजमा शाक्यले किरण थापासँग सहकार्य गरेका छन् ।

शब्द रचना थापाकै छ । रोहित र त्रिशलाले यसै महिना लगनगाँठो पनि कसेका थिए । विवाहपछि यी दुईको पहिलो प्रोजेक्ट हुनेछ । आइकोर फिल्म्सको ब्यानरमा प्रभु राणा र प्रज्वल राणाले फिल्म निर्माण गरेका हुन् । फिल्म वैशाख २१ गते रिलिज हुँदैछ ।

सम्बन्धित खवर