हरिवंशको ‘काउली’ गीतमा चेलीबेटी बेचबिखनविरुद्धको सन्देश - Crazysaptahik.com

हरिवंशको ‘काउली’ गीतमा चेलीबेटी बेचबिखनविरुद्धको सन्देश

अभिनेता तथा गायक हरिवंश आचार्यले चेलीबेटी बेचबिखनविरुद्धको सन्देशसहित नयाँ गीत ‘काउली’ दर्शकमाझ ल्याएका छन् । आचार्यकै शब्द, संगीत र स्वर रहेको गीतमा अहिलेकी चर्चित गायिका शान्तिश्री परियारको समेत आवाज छ ।

भिडियोमा आचार्यसहित प्रकाश सपुत र प्रियंका कार्की पनि फिचर्ड छन् । गीतको भिडियोमा चेलीबेटी बेचबिखनविरुद्धको सन्देश दिन खोजिएको छ । भिडियो निर्देशन सरोज ओलीले गरेका छन् । हरिवंशका अनुसार उनले यो गीत निर्देशक ओलीकै वैवाहिक वर्षगाँठमा लेखेका हुन् ।

‘एक वर्षअघि म सरोज भाइको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बतमा गएको थिएँ,’ हरिवंशले सम्झिए, ‘त्यहीबेला एक्कासि काउलीको प्रसंग निस्कियो । मेरो मुखमा त्यसै ‘ए काउली, नचिने मान्छे आँखा झिम्काउली’ शब्द फुयो । त्यसपछि यसले गीतको स्वरुप पाएको हो ।’

गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य । ‘बिहे व्रतबन्धतिर उफ्रीउफ्री नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शक पनि उफ्रिउफ्रि नाच्न सक्नुहुनेछ,’ उनले भने ।

गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज र गम्भीर विष्टले नृत्य निर्देशन गरेका हुन् ।हरिवंशले यसअघि पनि चेलीबेटी बेचबिखनविरुद्धकै सन्देशमा आधारित ‘कर्कलो कोक्याउला’ गीत ल्याएका थिए ।

सम्बन्धित खवर